८ कार्तिक २०८३, आइतबार

गेटा आँखा अस्पतालमा उपचार सेवा प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eye-Hospital-650x224धनगढी, ७ साउन । अस्पतालका हरेक काममा मनोमानी गर्ने गरिएको विरोधमा कर्मचारी एक हप्तादेखि आन्दोलनमा उत्रिएपछि कैलालीको गेटा आँखा अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

कर्मचारीको विरोधसँगै उपचार सेवा प्रभावित हुन थालेपछि अस्पताल परिसरमा केही दिनदेखि प्रहरी परिचालन गरिएको छ । अस्पतालका निर्देशकले कर्मचारी अवकाश, नयाँ भर्ना तथा सेवा सुविधा प्रदान गर्ने काममा मनोमानी गर्ने गरेको गुनासो कर्मचारीको छ ।

अस्पतालको प्राविधिक पदमा करारमा कार्यरत पुस्कर शर्मालाई अवकाश दिइएपछि अस्पतालका कर्मचारीले कर्मचारीको पुनःबहालीको माग गर्दै काम ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि पनि अस्पतालमा कार्यरत दुई जना चिकित्सकलाई बिनाकारण अवकाश थमाइएको कर्मचारीको भनाइ छ ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कर्मचारीउपर अस्पतालका निर्देशक डा विद्याप्रसाद पन्तको नेतृत्वमा प्रहरी लगाएर दुव्र्यवहार गरेको भन्दै आक्रोशित भएका कर्मचारीले निर्देशकको राजीनामासमेत माग गरेका छन् ।

“अस्पतालमा आफ्ना नजिकका कर्मचारीलाई ठूलो पारिश्रमिक र सेवासुविधा दिइन्छ, तर आफन्त नपर्ने कर्मचारीलाई कम पारिश्रमिक र सेवासुविधा दिई शोषण गर्ने गरिएको छ,” पीडित कर्मचारीको आवाज रहेको छ ।

अस्पतालभित्र हुने अनियमितताको सुधारका लागि कर्मचारीले नौसूत्रीय माग राखी आन्दोलन गर्न बाध्य भएको आन्दोलनको नेतृत्व गरेका अस्पतालका नेत्र अधिकृत गणेश चौधरीले बताउनुभयो ।

यद्यपि अस्पतालका निर्देशक डा विद्याप्रसाद पन्तले कर्मचारी भर्ना, अवकाशलगायतका कामको जिम्मा आफू एक्लैको मात्र नभई व्यवस्थापन समितिले गर्ने गरेको र आफूबाट कुनै अनियमितता नहुने गरेको दाबी गर्नुभयो ।

नर्वेली चर्चको सहयोग र पहलमा झन्डै ३५ वर्ष अघि स्थापना गरिएको गेटा आँखा अस्पताल पछिल्ला केही वर्षदेखि आफ्नै स्रोतबाट सञ्चालन भइरहेको छ ।

अस्पतालमा नेपाल र भारतका बर्सेनि लाखौँ सङ्ख्याका आँखा रोगी उपचारका लागि आउने गरेका छन् । रासस