बागलुङ, ७ साउन । बागलुङमा प्रसूतिका बेला हुने महिलाको मृत्युदर शून्यमा झरेको छ ।
सुरक्षित मातृत्व कार्यक्रमले मातृ मृत्युदर घटाउन सहयोग पु¥याएको हो । स्वास्थ्य संस्थामा प्रसूति हुने क्रम बढ्नु नै मातृ मृत्युदर शून्यमा आउनुको प्रमुख कारण रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आव २०६८/६९ मा प्रसव पीडाका कारण जिल्लामा पाँच महिलाले ज्यान गुमाएकामा पछिल्ला दुई आवमा सो सङ्ख्या घटेर शून्यमा यथावत रहेको छ । आव २०६९/७० मा पनि प्रसूतिका बेला तीन महिलाले ज्यान गुमाएका थिए । “सुरक्षित मातृत्वको क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको छ, गत दुई वर्षमा प्रसूतिका बेला हुने मृत्यु शून्य छ”, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले भन्नुभयो ।
गाउँ–गाउँमा सुविधासम्पन्न प्रसूति केन्द्र सञ्चालनमा आएपछि मातृ मृत्युदर घटेको प्रशासक श्रेष्ठले बताउनुभयो । जिल्लामा हाल ३५ वटा स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालित छन् । प्रसूति केन्द्र खुलेपछि स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाको सङ्ख्या बढेको छ ।
विसं २०६७ मा स्वास्थ्य संस्थामा हुने प्रसूतिको सङ्ख्या २४ प्रतिशत रहेकोमा आव २०७१/०७२ मा त्यो बढेर ४६ प्रतिशतमा पुगेको छ ।
यसलाई आगामी वर्षभित्र ६० प्रतिशतमा पु¥याउने लक्ष्य रहेको प्रशासक श्रेष्ठले उल्लेख गर्नुभयो । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति हुनेको सङ्ख्यामा पनि उस्तै गरी बढेको पाइएको छ । गर्भवती, सुत्केरी र नवजातको शिशु स्याहारमा जिल्ला स्वास्थ्य कार्यालयसँगै अन्य सहयोगी संस्थाले पनि काम गरिरहेका छन् ।
‘वान हर्ट वल्र्डवाइड’ को आर्थिक सहयोगमा नेपाल कल्याण सङ्घले विगत पाँच वर्षदेखि सञ्चालन गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना हालै समाप्त भएको छ ।
उक्त परियोजनामार्फत मातृशिशु स्वास्थ्य स्याहार, जाँचमा उल्लेख्य काम भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परियोजना अवधिमा १४ वटा प्रसूति केन्द्र मर्मत सम्भार, २६ वटालाई उपकरण सहयोग र १४ वटामा सौर्यऊर्जा प्रणाली जडान गरिएको ‘वान हर्ट वल्र्डवाइड’ का कार्यक्रम संयोजक सूर्य भट्टले जानकारी दिनुभयो ।
मर्मतसम्भार र उपकरण सहयोगमा करोडौँ रुपैयाँ परियोजनामार्फत खर्च भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सबै गाविस र स्वास्थ्यचौकीमा प्रसूति केन्द्र खोल्ने लक्ष्य लिएको छ ।
घरमै सुत्केरी गराउन जाने स्वास्थ्यकर्मीले पनि स्वास्थ्यसंस्था आउन जनचेतना फैलाउने काम गरिरहेका छन् । गत आवमा सबैभन्दा बढी २५९ प्रसूति बुर्तिवाङ प्राथमिक स्वास्थ्यकेन्द्रले गराएको छ । त्यसपछि गलकोट हटियामा रहेको हटिया उपस्वास्थ्य चौकीमा २०५ प्रसूति भएका छन् । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले शल्यक्रियासहितको प्रसूति सेवा दिएपछि केन्द्रमा प्रसूति हुन आउनेको सङ्ख्या बढेको हो ।
जिल्लामा सञ्चालित ‘सेफ सिम’ परियोजना पनि सुरक्षित मातृत्वको क्षेत्रमा प्रभावकारी देखिएको छ । नेपालमा एक लाख प्रसूतिमा २२९ जनाको मृत्यु हुने गरेको छ । रासस















प्रतिक्रिया