८ कार्तिक २०८३, आइतबार

एमालेभित्र भाँडभैलो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo– भेषराज केसी
उदयपुर, ७ साउन । जिम्मेवारी बाँडफाँड र अध्यक्षको स्वेच्छाचारी निर्णयको बिरोधमा नेकपा एमाले जिल्ला कमिटी उदयपुरका नेता तथा कार्यकर्ता उत्रिएका छन् ।

जिल्ला कमिटीका जिम्मेवार व्यक्ति नै अध्यक्षको विरोधमा उत्रिएपछि पार्टीभित्र तिव्र बिबाद र गुटउपगुट सुरु भएका छन् । विरोधस्वरुप पार्टी उपाध्यक्ष बिमल कार्की लगायतका जिल्ला कमिटीका ठूलो समुहले बिहीबार होटल एवानमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष इश्वरमणि राउतको स्वेच्छाचारी निर्णयको भण्डाफोर गरेका छन् । माथिल्लो कमिटीको प्रष्ट गुट तल्लो तहसम्म आईपुग्दा बिबाद चुलिएको सामान्य कार्यकर्ताको बुझाई छ । पार्टी जिल्ला अध्यक्ष एमाले नेता माधव नेपाल पक्ष र उपाध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

उदयपुरमा नेपाल पक्ष हाबी हुँदा ओली पक्षले अधिकार नपाएपछि एमालेभित्र भाँडभैलो मच्चिएको हो ।

विशेषगरी असार ३ गते बसेको बैठकको सन्र्दभलाई लिएर पार्टीभित्र आन्तरिक द्धन्द्ध सुरु भएको हो । असार ३ गते एक समुहको बहिस्कारका बाबजुद अर्को समुहले जिम्मेवारी बाँडफाँड गरेपछि पार्टीभित्रको आन्तरिक बिबाद उत्कर्षमा पुगेको नेताहरुको ठम्याई छ ।

उक्त बैठकमा पार्टी उपाध्यक्ष बिमल कार्की, सदस्यहरु दुर्गाकुमार थापा, कालुमान लामा, कुशलबाबु बस्नेत, खड्ग परियार लगायतका तीन दर्जन जिल्ला कमिटी सदस्यहरुले स्वेच्छाचारी निर्णयको बिरोध जनाउँदै बैठक हलबाट बाहिरिएका थिए । आफूहरु बैठक छोडेर बाहिरिएको मौका पारी अध्यक्ष राउतको समुहले केहि पार्टी कार्यालयमै र केहि होटलमा बसेर जिम्मेवारी बाँडफाँड गरेपछि बिबाद चुलिएको उपाध्यक्ष कार्कीको आरोप छ ।

उनले भने, ‘नियम अनुसार बैठकको सुरुमा उपस्थिती जनायौ, हामीले सोचेका थियौँ बैशाख ३० गते बसेको बैठकमा भएको सहमतिअनुसार जिम्मेवारी बाँडाफाँडमा पर्याप्त छलफल गरी सुधार आउछ भनेर तर त्यसो हुन सकेन, हिजो जे थियो पुनरावोलकन नगरी त्यहीँ आयो त्यसैले वहिस्कार गर्यौ ।’

बैशाख ३० गते प्रस्तुत गरिएको कार्यविभाजन मापदण्डमा आधारित नभएको, व्यक्तिहरुको अभिरुची, योग्यता, क्षमताभन्दा पनि पूर्वाग्रहबाट प्रेरित भएर आएको जिल्ला कमिटी सदस्य दुर्गाकुमार थापा (स्वस्ति)ले बताए । उनले चैत्र १६ देखि १८ गतेसम्म भएको सातौँ जिल्ला अधिवेशन कै झल्कोलाई पुनः सम्झाउने गरी एकपक्षीय, स्वेच्छाचारी र फरकमत राख्नेलाई सिध्याउनुपर्छ भन्ने रणनीति अपनाएको आरोप लगाए ।

पार्टी भित्रका कार्यकर्ताको योग्यता, क्षमता र दक्षताको मुल्यांकन हुन नसक्दा पार्टी संगठन कमजोर भएको भन्दै उनले पार्टीको शाख झर्ने गरी भएका गतिबिधि तत्काल बन्द गर्न आग्रह गरे । उनले देशकै एक जिम्मेवार दोस्रो पार्टी हुनुको नाताले जिल्ला बिकास समिति र नगरपालिकाका गतिबिधिदेखि लिएर विकास निर्माणका सवालमा मौन रहनु, उपस्थिती नजनाउनु, चासो नदिनु लज्जास्पद भएको बताए ।

‘पार्टीको आन्तरिक चुनावमा हारजितलाई स्वभाविक मानिन्छ,’ नेता थापाले भने, ‘तर त्यसैलाई प्रतिशोध मानेर जिम्मेवारी नदिनु, नसमेटिनु यहाँभन्दा गैरजिम्मेवारी, गुटगत धारणा र संकुचित सोच भन्दा केहि हुन सक्दैन ।’ थापाले पार्टीको नीति, नियम, निर्देशिका विपरित गठन गरिएका विकास वोर्ड तत्काल खारेज गर्न समेत माग गरे । विकास वोर्ड पार्टीका कुनै पनि नीति नियममा नभएको उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा अवैधानिक तवरबाट जिम्वेवारी दिइएको सल्लाहकार परिषदको अध्यक्ष र बिद्यान विपरित गरिएका स्थानीय निकायका जिम्मेवारी बाँडफाडँ खारेजी हुनु पर्ने सहभागी नेताहरुले बताए । विद्यान अनुसार सल्लाहकार परिषदको अध्यक्ष दुई कार्यकाल भन्दा बढी हुन पाईदैन तर एकै व्यक्ति तीन कार्याकालसम्म रहनु बिद्यान विपरित भएको नेताहरुको ठहर छ ।

त्यसैगरी भूकम्प पीडितका नाममा संकलन गरिएको राहत वितरण गर्नुको साटो पार्टी सम्पर्क कार्यालयमा थन्क्याउनुले सिङ्गो पार्टीको बदनाम भएको बताइएको छ । उनीहरुले अरुले गरेको गल्तिलाई औँला ठ्डयाउन सक्नेल आफू पनि सहि ठाउँमा हुन पर्छ भन्ने पाठ सिक्न जरुर रहेको सुझाब दिए ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी सदस्य कालुमान लामाले पार्टी संगठन र जिम्मेवारीलाई व्यक्तिविशेषको गोजी बनाएको प्रति आक्रोश पोखे । उनले अध्यक्ष लगायतका केहि गुटगत समुहले पार्टीमा आफ्ना भाईभारदार र नाताबाद कृपाबादलाई अघि सारेर नियुक्ती गर्ने प्रचलनले सिङ्गो कार्यकर्ता मर्माहत भएको बताए ।

‘क्षमता, दक्षता, योग्यता, इमान्दार, वफादार कार्यकर्तालाई पाखा लगाएर आसेपासे तथा पार्टीको खोल ओढनेलाई जिम्मेवारी दिनु बिद्यान विपरित छ,’ नेता लामाले भने, ‘अब एमाले भित्र बिऊँ उमार्ने कि उम्रन नपाउँदै बिष हालेर मार्ने त्यसको हिसावकिताव गर्न जरुर छ ।’ नेतृत्व प्रति निकै आक्रोशित मुद्रामा देखिएका नेता लामाले भने, ‘यो रवैया रहि रहने र नसच्चिने हो भने पार्टीका इमान्दार कार्यकर्ताको पाखा लाग्छन् अन्ततः पार्टी कमजोर हुनुको विकल्प छैन ।’

असन्तुष्ट समुहले सर्वसम्मत नभएका निर्णयलाई कार्यान्वयन नगर्न नगराउन आम कार्यकर्ता र जनसंगठनहरुलाई आग्रह गरेको छ । असार ३ गतेको अवैधानिक तौर तरिकालाई आधिकारिकता नमान्न आग्रह गर्दै जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला कमिटीका सबै सदस्यहरुको सहमतिवेगर गरिएको उक्त कार्यको मातहत कमिटी तथा सम्बद्ध निकायलाई कार्यान्वयन नगरेर पार्टी एकताका लागि दवाव सृजना गर्न हुन अपिल गर्दर्छौ ।’

विज्ञप्तीमा एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने धृष्ठता बन्द गरी तथाकथित सर्कुलर वाँडने कार्य बन्द गरिनुपर्ने, पार्टीलाई सहमति, सहकार्यको संस्कृतिबाट अगाडी बढाउने प्रयासको थालनी गर्नुपर्ने माग अघि सारिएको छ । त्यस्तै जिल्ला तहमा उत्पन्न समस्या प्रति केन्द्रीय कमिटीबाट गहिरो अध्ययन गरी समाधानका लागि उचित कदम चाल्न आग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका पुर्व अञ्चल कमिटी सचिव तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मणिराज पौडेल, पुर्व अञ्चल कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य लक्ष्मीनारायण चौधरी, पुर्व अञ्चल कमिटी सदस्य तथा अनेमसंघका केन्द्रीय सचिवालय सदस्य अम्बिका थापा, अन्य जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि, पेशाकर्मीहरुको उपस्थिति रहेको थियो ।