बेनी (म्याग्दी), ७ साउन । म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक महत्व बोकेको जगन्नाथ मन्दिरको पुनःनिर्माण कार्य सकिएको छ ।
करिब ५५० वर्ष पुरानो मन्दिर जीर्ण बन्दै गएपछि महायज्ञको आयोजना गरी सङ्कलित रकमबाट मन्दिरको पुनःनिर्माण गरिएको हो ।
विसं २०६९ को फागुन महिनादेखि निर्माण सुरु गरिएको मन्दिरको वरिपरि पर्खाल लगाउने, जगैदेखि ढलान गर्ने, रङरोगन, वाइरिङ, मन्दिरभित्र फिनिसिङ, गजुर राख्नेलगायतका काम सम्पन्न गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।
त्यसैगरी, मन्दिरको भुइँमा ढुङ्गा छापिएको छ भने गजुर राखेको भागभन्दा तल रङ लगाउने, पिल्लर निर्माण, चारैतिर ढोका तथा झ्याल राख्ने काम भएको उहाँले बताउनुभयो ।
मन्दिरको शिरमा तामाको मूल गजुर र चार चोसामा चारवटा पित्तलका सुनौलो रङका गजुर काठमाडौँदेखि ल्याएर राखिएको छ । मन्दिर निर्माणको काम दुई वर्षको अवधि राखी गत वर्षको मङ्सिरमा सक्नेगरी लेबर कन्ट्याक्टमा दाङका ठेकदार रामबहादुर घर्तीमगरलाई निर्माण समितिले रेखदेख गर्ने गरी जिम्मेवारी दिइएको थियो ।
भौगोलिक विकटता, बाटोघाटोको असुविधा, कच्चापदार्थ समयमा उपलब्ध नहुनु, ढुवानीको समस्याजस्ता कारणले मन्दिर निर्माणकार्य तोकिएको समयभन्दा ढिलो हुन गएको अध्यक्ष बानियाँले बताउनुभयो ।
आगामी मङ्सिर मसान्तसम्ममा पुनःनिर्माण गरिएको जगन्नाथ मन्दिरको उद्घाटन गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
मन्दिर शिखर शैली एवम् काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकारमा निर्माण गरिएको निर्माण समितिका सचिव निलकण्ठ शर्माले बताउनुभयो ।
उक्त मन्दिर निर्माण कार्यमा रु ६० लाख खर्च भएको निर्माण समितिले जनाएको छ । विसं २०६९ को मङ्सिरको दोस्रो सातामा लगाइएको साप्ताहिक महायज्ञबाट कुल रु एक करोड आठ लाख सङ्कलन भएको थियो ।
महायज्ञको अवसरमा नगद रु ४९ लाख १३ हजार ८१७ उठेको थियो भने अझै करिब रु १५ लाख रकम उठ्न बाँकी रहेको छ ।
मन्दिरमा दैनिक पूजा आराधनाका लागि आवश्यक पानीको अभाव भएको गाजनेवासीको भनाइ छ । त्यसैगरी जगन्नाथ मन्दिर नजिकैको डिलबाट म्याग्दी जिल्लाका ३६ वटा गाविस नाङ्गो आँखाले अवलोकन गर्न सकिने भएकाले गाजनेलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनीहरुको माग छ ।
विसं १५५० मा राजा दिलीपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती रहेको छ । करिब ५२१ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नरसिंह, चतुर्वाहुका मूर्ति रहेका छन् । जगन्नाथकै कारण गाजने गाउँमा घरेलु मदिरा उत्पादन र कुखुरापालन गर्न पाइँदैन । रासस
















प्रतिक्रिया