काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमा लिपुलेक, लिम्पियाधुराको बारेमा कुरा हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जाँदा लिपुलेक, लिम्पियाधुरा बारे भारतसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्ने साथै संयुक्त राष्ट्र संघमा पनि यसबारे कुरा उठ्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यू चीन र भारतको भ्रमणमा जादैँ हुनुहुन्छ भन्ने कुरा सुनेको छु । लिपुलेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्छ र यो वार्ता गर्न हामी अपिल गर्न चहान्छौं । नेपाल संयुक्त राष्ट्र संघको सदस्य १९५५ डिसेम्बर १४ मा भएको हो । यसको अर्थ चीनभन्दा अगाडि नेपाल संयुक्त राष्ट्र संघको सदस्य छ । संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधित्व पनि छ तर संयुक्त राष्ट्र संघमा आजसम्म यो कुरा किन उठाइएको छैन । सरकारलाई हामी खबरदारी गर्न चाहान्छौ संयुक्त राष्ट्र संघमालिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु उठोस् ।’
यस्तै, उनले सत्तापक्षका सांसदहरु माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुसँग फोटो सेशन गरिरहेका भन्दै सबै एकजुट भएर किसानको रकम उपलब्ध गराउन र सदनमा नै फोटो सेशन गर्न पनि आग्रह गरेका छन् ।








प्रतिक्रिया