
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको काठमाडौंका महाधिवेशन प्रतिनिधिसँगको अनौपचारिक भेटघाटबारे सञ्चारमाध्यममा आएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रचार गरिएको ‘ओलीले विद्या भण्डारीबारे दिएको भनाइ’ भन्ने कुरा भ्रामक र मनगढन्ते भएको स्पष्ट पारेको हो ।
भदौ ११ गते भएको उक्त भेटघाटलाई सचिवालयले कुनै प्रशिक्षण वा औपचारिक कार्यक्रम नभई आसन्न विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधिहरुसँग गरिएको सामान्य अनौपचारिक छलफल मात्रै भएको बताएको छ । त्यही दिन ओलीले ललितपुर जिल्लाका पदाधिकारीसँग पनि भेटघाट गरेका थिए ।
भेटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक यात्रा, व्यक्तिगत स्वार्थका कारण आन्दोलनलाई परेको असर, पार्टीको केन्द्रीय कमिटीका पछिल्ला निर्णय, तथा वर्तमान सरकारले विकास र सुशासनका लागि अघि सारेका कामबारे धारणा राखेका सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्दै पार्टी प्रवेशका लागि उनले विधिवत् बाटो नअपनाएको र सक्रिय राजनीतिमा फर्कने ढंगले प्रस्तुत हुनु पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउन सक्ने उल्लेख गरेका थिए ।
सचिवालयले “ओलीले ‘विद्या भण्डारीबाहेक कसैले मलाई धक्का दिन सक्दैन’ भन्ने भनाइ काठमाडौँमा राखेको” भन्ने समाचार पूर्णतः असत्य र स्वार्थपूर्ण व्याख्या भएको भन्दै यस्ता भ्रमक सूचनाबाट सचेत रहन आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिहरूलाई बालुवाटारमै बोलाएर बुधबार साँझ प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रको अन्तरसंघर्ष, विधान महाधिवेशनको प्रक्रियादेखि राष्ट्रिय राजनीतिबारे समेत बताएका जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् ।
यस्तो छ प्रधानमन्त्रीको सचिवालयको धारणा–
प्रेस नोट
काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलबारे
१२ भदौ २०८२
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो । भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो । काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।
भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुुभएको थियो । अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो, “पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत्रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कु्रा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।’’
अतः उक्त भेटघाट कार्यक्रमका सम्बन्धमा सत्य तथ्य बुुझेर मात्रै सम्प्रेषण गर्न हुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।
–प्रधानमन्त्रीको स्वकीय सचिवालय ।
प्रतिक्रिया