काठमाडौं । दैनिक नेपाल डटकममा एआईजी मनोज केसीसँगको सवांद भन्दै आफ्नो तस्बिर र अडिओसहित प्रकाशित समाचारप्रति नुवाकोटका एनआरएन अभियन्ता नारायण भण्डारीले आपत्ति जनाएका छन्।
उनले समाचारमा प्रस्तुत गरिएको अडियो आफ्नो नभएको दाबी गर्दै त्यसमा सुनिएको आवाज र संवादलाई आफूसँग जोडेर समाचार प्रकाशन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
भण्डारीले एआईजी मनोज केसीसँग आफ्नो कुनै फोन संवाद वा प्रत्यक्ष भेटघाट नभएको दावी छन्। केसीसँग आफ्नो नाम जोडेर प्रकाशित सामग्रीको तथ्यगत आधार पुष्टि गर्न पनि उनले माग गरेका छन्।
एनआरएनसम्बन्धी कार्यक्रममा आफ्नो सहभागितालाई अडिओमा उल्लेख भएको भनिएको प्रसंगसँग जोडेर समाचार बनाउनु गलत भएको उनको जिकिर छ।
साथै, समाचारमा आफूलाई ‘बिचौलिया’ भनेर चित्रण गरिएकोप्रति पनि उनले गम्भीर आपत्ति जनाएका छन्। बिना आधार र प्रमाण कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुग्ने गरी त्यस्तो शब्द प्रयोग गर्नु पत्रकारिताको मर्यादाविपरीत हुने भण्डारीको भनाइ छ।
उनले उक्त आरोप पुष्टि गर्ने आधार, प्रमाण र स्रोत सार्वजनिक गर्नसमेत माग गरेका छन्।












प्रतिक्रिया