भक्तपुर, ५ साउन । आज भक्तपुरको क्षेत्र नं. २ को तीनवटा नगरपालिकामा संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा सहभागीले नयाँ संविधानमा सीता, भृकुटी र बुद्धको देश भनेर लेखिनुपर्ने, महिलाका समस्या समाधान गर्न महिला अदालत गठन गर्नुपर्ने र प्रदेश सरकारको नेतृत्व पुरुष र महिलाको आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
भक्तपुरको अनन्तलिङ्ेश्वर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा आज गरिएको सुझाव सङ्कलन कार्यक्रममा स्थानीयवासीले मुलुकमा सङ्घीयता आवश्यक नभएको बताउँदै देश टुक्राउन नपाइने व्यवस्था संविधानमा गर्नुपर्ने, अपाङ्ग आयोग गठन गर्ने व्यवस्था गर्नुपर्ने, बलात्कार, मानव बेचबिखन र देशलाई असर गर्ने गम्भीर अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी खस, क्षेत्री, दशनामीलाई पनि आदिवासीमा सूचीकृत हुनुपर्ने, हिमाल, पहाड र तराईसम्मलाई एउटै प्रदेश बनाइनुपर्ने, छवटा भन्दा बढी प्रदेश हुन नहुने सुझावसमेत दिएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका सभासद् रामेश्वर ढुङ्गेलले संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा प्राप्त राय सुझाव नयाँ संविधानमा अटाउने बताउनुभएको छ ।
एमालेका सभासद् केदार सञ्जेलले जनताको मतलाई कदर गर्न सञ्चालित राय, सुझाव कार्यक्रममा आएका सुझावले नयाँ संविधानमा स्थान पाउने बताउनुभयो । रासस















प्रतिक्रिया