
काठमाडौं, ३० असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य एव संंगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीभित्र नेतृत्वको बहसभन्दा पहिले नीति, योजना र विधिको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
पार्टीको विधान महाधिवेशनको मुखमा नेतृत्वको बहस चलेपछि उनले अहिलेको ध्यान विधान महाधिवेशनमा केन्द्रित हुनुपर्ने स्पष्ट पारेका हुन् । उनका अनुसार पार्टी हाल विधान महाधिवेशनको तयारीमा जुटिरहेको छ, जसले आगामी सांगठनिक रूपरेखा र कार्यदिशा तय गर्नेछ । अहिले पार्टीको नीति र कार्यक्रमका बारेमा छलफल गर्नुपर्ने बताउँदै उनले नेतृत्वको बहस विधान महाधिवेशनपछि गर्न सुझाव दिएका छन् ।
‘पार्टी नीति, योजना र विधि निर्माणका लागि विधान महाधिवेशनको तयारीमा जुटिएको छ,नेतृत्वको विषयमा बहस विधान महाधिवेशनपछि गरौँला’, उनले भने । नेतृत्वभन्दा नीतिमाथि हुने बताउँदै नीति बलियो बनाउनेमा ध्यान जानुपर्ने उनको जोड छ ।
ढुङ्गेलले अब हालको विधानको बहस होइन आगामी रणनीतिक परिप्रेक्ष्यमा आधारित बहसको आवश्यकता रहेको औँल्याएका छन् । उनले भने, ‘२०७८ सालमा छापिएको विधानको बहस गर्नुभन्दा २०८२ को विधानमा के हुनुपर्छ भन्ने विषयमा बहस गरौँ न ।’ ढुङ्गेलको यो अभिव्यक्ति एमाले भित्र नीतिगत विमर्शलाई प्राथमिकता दिनुपर्ने पक्षमा उभिएको छ । अहिले बेमौसममा चलेको नेतृत्वको बहसले पार्टीमा बेमौसमी उछाल ल्याएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएर पार्टीको नेतृत्वमा आउने अभिव्यक्ति दिएपछि एकथरी नेताहरू मदनको नीति विद्याको नेतृत्व भन्दै हिँडेका छन् । ढुङ्गेलले अहिले नेतृत्वका चर्चा बेमौसमको बाजा भएको बताएका छन् ।












प्रतिक्रिया