काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटिभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाइ नेपहप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टिभीएस एनटर्क आबद्ध भएको छ ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाइ नेपहप’ कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ । यो कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ ।
आयोजकका अनुसार कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित टिभीएस एनटर्कले यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको टिभीएस एनटर्कको यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाइ नेपहप’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।












प्रतिक्रिया