२० कार्तिक २०८३, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राधेश्याम विश्वकर्मा

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो ।

तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको लगानी जोखिममा परेको छ । विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन । बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको विषयले अहिले फेरि भैरहवाको पर्यटन तथा आर्थिक क्षेत्रलाई तरंगित बनाएको छ ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले भैरहवामा आयोजना गरेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी : पर्यटन कनेक्टिभिटी र आर्थिक समृद्धिको सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी मन्त्री, पर्यटन व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिले विमानस्थल सञ्चालनको अनिश्चितताप्रति असन्तुष्टि जनाए । उनीहरूले विमानस्थललाई राजनीतिक भाषणको विषय बनाउनुभन्दा नियमित उडान सञ्चालनका लागि व्यावहारिक योजना ल्याउन सरकारसँग माग गरे ।

कार्यक्रममा सेन्टरका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले पूर्वाधार तयार भए पनि विमानस्थलको व्यावसायिक उपयोग हुन नसक्नु विडम्बना भएको बताए । उनका अनुसार विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, वार्षिक करिब १० लाख यात्रु धान्न सक्ने टर्मिनल र एकैपटक पाँचवटा अन्तर्राष्ट्रिय जहाज राख्न सक्ने पूर्वाधार छ ।

तर छ महिनाभन्दा बढी समयदेखि तालिकाबद्ध अन्तर्राष्ट्रिय उडान नहुँदा पनि संरचना र जनशक्ति तयारी अवस्थामा राख्नुपरेको छ । सयभन्दा बढी कर्मचारीको व्यवस्थापन र वार्षिक आठ करोड रुपैयाँभन्दा बढी सञ्चालन खर्चको दायित्व यथावत् रहेको उनले बताए । ‘विमानस्थल निष्क्रिय हुँदा पनि खर्च रोकिएको छैन । पूर्वाधार तयार छ, तर त्यसको व्यावसायिक उपयोग हुन सकेको छैन,’ कर्णले भने ।

विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा–लुम्बिनी क्षेत्रमा आधा दर्जनभन्दा बढी पाँचतारे होटलसहित दर्जनौँ तारेस्तरका होटल सञ्चालनमा आएका छन् । व्यवसायीले दैनिक आठदेखि १० वटासम्म ठूला जहाज आउने अपेक्षा गरेका थिए । तर नियमित उडान नहुँदा लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले विमानस्थल र होटल क्षेत्रमा भएको लगानीको प्रतिफल नआउनु गम्भीर आर्थिक समस्या भएको बताए । विमानस्थल सञ्चालनलाई हवाई सेवाको समस्याका रूपमा मात्र नभई समग्र क्षेत्रीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।

पोखरेलले लुम्बिनी आउने पर्यटकको संख्या र उनीहरूले गर्ने खर्चबीच ठूलो अन्तर रहेको तथ्यसमेत प्रस्तुत गरे । विश्व बैंकको परियोजना मूल्यांकन दस्तावेजलाई उद्धृत गर्दै उनले वार्षिक करिब ११ लाख पर्यटकबाट ४८ हजार रोजगारी सिर्जना भएको बताए । उनका अनुसार प्रत्येक २३ पर्यटक बराबर एउटा रोजगारी सिर्जना भइरहेको छ, जबकि राष्ट्रिय औसत प्रत्येक छ पर्यटक बराबर एउटा रोजगारी रहेको छ ।

लुम्बिनी आउने तीर्थयात्रीले दैनिक औसत १५ अमेरिकी डलर मात्रै खर्च गर्ने र अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने प्रवृत्ति रहेको पोखरेलले बताए । पर्यटकको संख्या बढाएर मात्रै पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन नसकिने भन्दै उनले उनीहरूको बसाइ अवधि र खर्च बढाउनुपर्नेमा जोड दिए ।

कर्णका अनुसार गत वर्ष लुम्बिनीमा ११ लाखभन्दा बढी आगन्तुक पुगेका थिए । नेपाली र भारतीय आगन्तुकको संख्या केही घटे पनि नेपाल र भारतबाहेकका मुलुकबाट आउने पर्यटकको संख्या एक चौथाइभन्दा बढीले बढेको थियो । श्रीलंका, थाइल्यान्ड र म्यानमारजस्ता बौद्ध धर्मावलम्बीको बाहुल्य भएका देशबाट पर्यटक आउनु सकारात्मक भए पनि उनीहरूलाई लामो समय नेपालमै राख्न नसक्नु चुनौती बनेको उनको भनाइ थियो ।

उडानका लागि पाँचवटा गाँठो

कर्णले विमानस्थल सञ्चालनमा देखिएका समस्यालाई हवाई मार्ग, मौसम तथा प्रविधि, बजार तथा सेवा, संस्थागत संरचना र नीतिगत निरन्तरतासँग जोडेर व्याख्या गरे ।

उनका अनुसार नेपाल आउने करिब ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान पूर्वको सिमरा प्रवेशमार्ग हुँदै भित्रिने गरेका छन् । पश्चिमबाट आउने जहाजले भैरहवा पुग्न करिब ३०० किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने अवस्था छ । नेपालले सन् २००९ देखि थप हवाई प्रवेशमार्गको माग गर्दै आए पनि ठोस निर्णय हुन सकेको छैन । यसले विमान कम्पनीको इन्धन खर्च र सञ्चालन लागत बढाएको छ ।

त्यस्तै, विमानस्थलमा जडान गरिएका उपकरण र आवश्यक प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन भारतीय भूभागसँग जोडिएका विषयमा सहमति आवश्यक रहेको उनले बताए । टिकट बिक्री गर्ने एजेन्सी र जनरल सेल्स एजेन्ट काठमाडौं केन्द्रित हुनु, वैदेशिक रोजगारीमा जाने यात्रुका लागि आवश्यक स्वास्थ्य परीक्षण, भिसा र श्रम स्वीकृतिसम्बन्धी सेवा भैरहवामा उपलब्ध नहुनु तथा विदेशी बजारमा लुम्बिनीको प्रचार कमजोर हुनु पनि विमानस्थलको व्यावसायिक सञ्चालनका बाधक रहेको उनको विश्लेषण थियो ।

नागरिक उड्डयन प्राधिकरण नियामक र सञ्चालक दुवै भूमिकामा रहनु तथा हवाई क्षेत्र सुधारसम्बन्धी नीतिगत निर्णय कार्यान्वयनमा ढिलाइ हुनु पनि समस्याका कारण रहेको उनले औँल्याए । विमानस्थल सञ्चालनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, चार्टर उडान र कार्गो सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ । साथै श्रीलंका, थाइल्यान्ड, म्यानमार र भियतनामजस्ता बौद्ध मुलुकका बजारसँग लुम्बिनीलाई जोड्नुपर्ने उनले बताए ।

‘राज्यको आश्वासनमा लगानी गर्‍यौँ, अहिले संकटमा छौँ’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल निर्माणको आश्वासनमा निजी क्षेत्रले ठूलो लगानी गरेको बताए । विमानस्थल सञ्चालन हुने विश्वासमा लगानी गरेका व्यवसायी अहिले संकटमा परेको उनको भनाइ थियो ।

‘यदि यो विमानस्थल नबनेको भए निजी क्षेत्रले यति धेरै लगानी गरेर जोखिम मोल्ने थिएन । राज्यले आश्वासन दिएर लगानी गर्न लगायो, तर अहिले व्यवसायीलाई संकटमा छाडिएको अनुभूति भएको छ,’ श्रेष्ठले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल सञ्चालनका लागि पटक–पटक छलफल र आन्दोलन गर्दा पनि सरकारले चासो नदेखाएको गुनासो गरे । नेपाल वायुसेवा निगमलाई भैरहवाबाट नियमित उडान गर्न बाध्य पार्ने वा कूटनीतिक पहलमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनले बताए ।

चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले विमानस्थल नियमित सञ्चालन नभएसम्म लुम्बिनी प्रदेश र रुपन्देहीको आर्थिक विकासले अपेक्षित गति लिन नसक्ने बताए । पर्यटन क्षेत्रमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा पर्दासमेत सरकार गम्भीर नदेखिएको उनको गुनासो थियो ।

विमानस्थलसँगै पर्यटनको मोडल बदल्नुपर्ने

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारुले विमानस्थल निर्माणको मूल उद्देश्य लुम्बिनीलाई विश्वस्तरको धार्मिक तथा दार्शनिक केन्द्रका रूपमा विकास गर्नु रहेको बताए । विमानस्थल संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले यसको सञ्चालनका लागि केन्द्र सरकारले परिणाममुखी पहल गर्नुपर्ने उनको भनाइ थियो ।

शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनीलाई भारतको बनारसजस्तै अन्तर्राष्ट्रिय आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । त्यसका लागि विमानस्थल सञ्चालनमा संघीय सरकारले विशेष नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागीहरूले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई एउटै पर्यटकीय सर्किटमा जोडेर पर्यटकको बसाइ र खर्च बढाउनुपर्नेमा जोड दिए । कर्णले विश्व बैंकले ग्रेटर लुम्बिनी क्षेत्र विकास आयोजनाका लागि ८ करोड ५० लाख अमेरिकी डलर सहयोग स्वीकृत गरेको जानकारी दिँदै लुम्बिनीलाई बौद्ध दर्शन, ध्यान, शान्ति अध्ययन र अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।

उनका अनुसार नेपाल वायुसेवा निगमले जाडो उडान तालिकामा एउटा जहाज भैरहवामा आधार बनाएर सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले थप वायुसेवा आकर्षित गर्न कूटनीतिक पहल गर्ने नीति लिएको पनि उनले बताए ।

तर यी योजना कहिले कार्यान्वयन हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बीको आस्था र पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी हुँदाहुँदै पनि नियमित उडान र स्पष्ट सरकारी कार्ययोजनाको अभाव छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु भैरहवाको मात्रै माग नभई लुम्बिनीको पर्यटन र समग्र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ ।