कविता
–दिल शिरीष
भूकम्प आयो र गयो
या, गयो र आयो
आएर गए पनि/गएर आए पनि
कतै भयभित/कतै आतंकित
मान्छेहरु बेसुरमा चिच्याइरहेछन् ।
ढल्यो/ढलायो
भत्कियो/भत्कायो
मा¥योमारियो
तर मलाइ यी चिच्याहट र क्रन्दनहरु
भ्रमिक बेवकुफ हल्ला जस्तो लागिरहेछ
ए मित्र ! तपाइलाई कस्तो लागिरहेछ ?
हो, भूकम्पले सुन्दर धरहरा ढल्यो
ढल्यो कर्मठ पौरखले बनाएका घरहरु
गुमायौ हजार भन्दा बढी वन्धुबान्धहरु
ढले थर्थराउदै शहिदका शालिकहरु
शरणार्थी भए कैयन माटोका मालिकहरु
भयग्रस्त बने पलपलको पराकम्पनले लाखौ मन मुटुहरु
तर,
यहाँ भ्रष्टाचारका अग्ला धरहराहरु अझै उस्तै छन्
अनियमितताले मख्खिएका जिर्ण पर्खालहरु दुरुस्तै छन्
छन् ठिङ्ग उभिएका संवेदनाहिन
घर भाडा पर्खिरहेका अग्ला महल र कम्पिलेक्सहरु
मिचेर कानुन बनाइएका सस्ता घरहरु
अनी अझै बाँकी छन् अदुरदर्शी सस्ता रहरहरु ।
भत्किएको छैन/भत्काएको छैन
नैतिकता पखालिएको मनपरीतन्त्रको बेनाम दरवारहरु
मुर्ति बनाउनेहरु प्रवेश नपाएका बिभेदकारी मन्दिरहरु
कतै चर्किएको छैन वर्ण व्यवस्थाको कारागार
कतै घटेको छैन अविश्वासका थुम्काहरु
कतै मेटिएको छैन आशंकाका रेखाहरु
मित्र, यदी भूकम्प आएको भए
ढल्नुपथ्र्यो गरिवको रगत बिक्री हुने मदिरालय
खुलेआम चेलीहरुको चिरहरण हुने वेश्यालय
भत्किनु पथ्र्यो मानवताबीचका जिर्ण पर्खाल
भग्नावशेष हुनुपथ्र्यो पुराना मक्खिएको मनपरी व्यवस्था
पुरिनुपथ्र्यो गरिव माथि लादिने संविधानको तासमहलहरु
रोकिनुपथ्र्यो निरिह नागरिक माथिको निर्मम परेड
धुलोमा मिसिनुपथ्र्यो अकुत सम्पतिका गगन भिल्लाहरु
अनी,
वैसरीमा पहिरो गएर कालीगण्डकी थुनिदा
थुनिनुपथ्र्यो आमाहरुको आँशुको मुहान
तर,
न थुनियो आशुका मुहानहरु
न भत्कियो मानवताबीचका जिर्ण पर्खालहरु
न भग्नावशेष भयो पुराना मक्खिएका मनपरी व्यवस्था
न पुरियो संवेदनाहिन काला सोच र इतिहासहरु
न रोकियो निरिह नागरिक माथिको निर्मम परेड
त्यसैले मित्र,
यहाँ आउनु पर्ने भूइचालो अझै आएको छैन ।
तर,
ओ ! मान्छे अमान्छेहरु हो
अब पनि बुझिएन/बुझाइएन भने
यथास्थितिको जग हल्लाउने गरी
ठुलो रेक्टर स्केलको भुइँचालो
यहाँ एक दिन निश्चित आउनेछ ।
यहाँ एक दिन निश्चित आउनेछ ।।
‘शिरीष धौलागिरि एफएम, बागलुङका समाचार सम्पादक हुन् ।’
















प्रतिक्रिया