
सिरहा, ९ बैशाख । विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मासर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो । बजारमा तीन सयमा पाइने रजिष्टर प्रतिगोटा १७ हजारमा खरिद भएको र भुक्तानी दिइएको उजुरी परेपछि अख्तियार बर्दिवास कार्यालयले अनुसन्धान थालेको थियो ।
तीनसय पर्ने रजिष्टर १७ हजार का दरले खरिद भएको देखिएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि भ्रष्टाचार गरेको अभियोजनपत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।
तर बैशाखको पहिलो सातामा आरोपित प्रमुख प्रशासकीय अधिकृत (हाल सहिदनगर नगरपालिका धनुषामा कार्यरत) उमेश महतोले बलरा नगरपालिकाको राजस्व शाखामा रजिष्टर खरिदको सावाँ र व्याज समेत ३ लाख १० हजार रकम बुझाएका छन् । रकम बुझाएपछि यादवमाथि दायर गर्न ठीक्क पारिएको मुद्दा मुलतवीमा गएको छ ।
मुद्दा मुलतवीमा पार्न ठूलो रकमको लेनदेन भएको सुत्रहरुले दावी गरेका छन् । अख्तियार कार्यालय बर्दिवासबाटै प्रमुख प्रशासकीय अधिकृत महतोलाई बोलाएर रजिष्टर खरिद गर्दा भएको भुक्तानीको साँवा र व्याज रकम सरकारलाई फिर्ता गरेर भौचर बुझाउन भनियो । त्यसपछि महतोले अह्राइए बमोजिम रकम जम्मा गरेर भौचर बुझाए । बर्दिवासले मुद्दा मुलतवीमा जाने सिफारिस सहित मिसिल टंगाल पठाइदिएको छ ।
मुद्दा मिलाउन अख्तियार कार्यालय बर्दिवासमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भूमिका खेलेको आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी कडरिया र प्रमुख प्रशासकीय अधिकृत महतो एकै नगरबासी भएको र छरछिमेकको नाताले महतोलाई बचाउन कडरियाले भूमिका खेलेको अनुमान गरिएको हो ।
यस विषयमा प्रजिअ कडरियालाई सोध्दा उनले उमेश महतोलाई नचिनेको र कसैलाई बचाउन कुनै पैरवी नगरेको बताए । उनले भने,‘अख्तियारले हामीलाई पनि बोलाउँछ । हामी आफ्नै कामले गएका हुन्छौं ।’ यस्तो आरोपमा कुनै सत्यता नभएको उनले जिकिर गरे ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेलले भने,‘अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ । हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो । उतैबाट बुझ्नुस् । हामीलाई थाहा भएन ।’उनले राजिष्टर खरिदमा अनुसन्धान भएको भने स्वीकार गरे ।
अख्तियार बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङ्गसँग यसबारे प्रतिक्रिया माग्दा रजिष्टर खरिदमा अनुसन्धान भएको तर निर्णय टंगालबाटै हुने बताएर उनी पन्छिए ।
यता प्रमुखप्रशासकीय अधिकृत महतोलाई प्रश्न गर्दा ‘के तपाईँले रजिष्टर खरिद वापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो ?’ जवाफमा भने,‘यस विषयमा मलाई थाहा छैन ।’ तर एकैछिनपछि फोन गरेर उनले भने,‘यस विषयमा भेटेरै कुरा गर्न मिल्दैन ? भेटेरै कुरा गरौं ।’
यता बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार साहलाई रजिष्टर खरिद वापतको रकम राजस्व खातामा जम्मा भए नभएको बारे सोध्दा उनले भने,‘म राजस्व शाखामा कार्यरत कर्मचारीसँग सोधेर फोन गरेर जानकारी गराउँछु ।’ तर त्यसपछि उनको फोन लागेन ।
सिरहाका वयोवृद्ध वामपन्थी नेता रामजी यादव भन्छन्,‘अख्तियारले जित हुनेमा शंका भएका मुद्दाहरु पैसा तिराएर मुलतवीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन् प्रश्रय पाएको छ । अख्तियारले समाइहाले नगद फिर्ता गरिदिने नत्र पचाउने भन्दै धक फुकाएर भ्रष्टाचार गर्न थालेका छन् । स्थानीय तहमा वेथितिले सीमापार गरेको छ,’उनले अगाडि भने,‘अख्तियारमा पनि वेथिति देखियो । यो मुद्दा सेटिङ्गमै मुलतवी पारिएको हुनुपर्छ ।’








प्रतिक्रिया