१ असार २०८३, सोमबार

सरकारले डेढ घण्टा कुर्‍यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ ।

शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् ।

उनले भनिन्, ‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरु आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौँ । उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौँ ।’ उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।

‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरेँ र आमन्त्रण गरेँ । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठायौँ । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौँ । वार्ताका लागि मन्त्रालय सधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्‍यौँ ।’