
उदयपुर, ६ फागुन । उदयपुरको कटारी नगरपालिकामा यही फागुन ११ गतेदेखि फागुन १७ गतेसम्म आयोजना हुने पाँचौ संस्करणको मेयर गोल्डकप स्थानीयसँग चन्दा उठाएर गर्ने तयारी गरिएको छ ।
नगर युवा तथा खेलकुद विकास समिति कटारीले स्थानीय उद्योगी, व्यापारी, व्यवसायी, लगायतसँग आर्थिक सहयोग मागेर मेयर गोल्डकप आयोजना गर्ने तयारी स्वरूप स्थानीयसँग चन्दा उठाइरहेको छ ।
स्थानीय एक व्यवसायीले मेयर गोल्डकप जस्तो प्रतिष्ठित प्रतियोगिता पालिकाले आफ्नै लागतमा आयोजना गर्नुपर्नेमा उल्टै आफुहरुसँग सहयोग लिएर खेलाएकोमा आश्चर्य व्यक्त गरे । उनले भने, ‘मेयरका नाममा आयोजना हुने प्रतियोगितामा यसरी स्थानीयसँग चन्दा उठाएर खेल आयोजना गर्दा राम्रो सन्देश जाँदैन् ।’
अहिले नगर युवा तथा खेलकुद विकास समिति कटारीले सामाजिक सञ्जालमा सहयोग गर्ने दाताहरुको तस्वीर राखेर बधाई दिँदै आएको छ । स्थानीयहरुले भने आफूहरुले राज्यलाई कर बुझाउँदा पनि धर नपाएको भन्दै मेयरका नाममा हुने आयोजनामा समेत फेरि सहयोग गर्नु परेकोमा गुनासो व्यक्त गरेका छन् ।
पछिल्लो समय स्थानीय पालिकाहरुले पालिका प्रमुखको पद जोडेर खेलकुद आयोजना गर्ने चलन बढेको छ तर स्थानीय तहले आयोजना गर्ने हरेक खेलकुद प्रतियोगितामा पालिकाको आफ्नै लगानीमा सञ्चालन गर्दै आएका छन् । स्थानीय सरकार समेत रहेको नगरपालिकाले स्थानीय खेलाडी उत्पादन गर्न आफ्नै लगानीमा खेल आयोजना गर्नुको साटो कटारी नगरपालिकाले नत आफ्ना स्थानीय खेलाडीलाई नै खेलमा अवसर दिएको छ नत पालिकाको पूर्ण लगानीमा मेयर गोल्डकपको आयोजना गर्दै छ । यसले स्थानीयमा भने गलत सन्देश गएको छ ।
कटारी नगरपालिकाले मेयर गोल्डकपमा आफ्नो पालिका भित्रका खेलाडी बीचको प्रतिस्पर्धा गराएर राम्रा खेलाडी उत्पादन गर्नु पर्नेमा प्रतियोगितामा भुटानको एक टिम समेत गरी आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा कटारी नगरपालिकाको एक टिमसहित धरान, काठमाडौं, सिन्धुली, वीरगञ्ज, सर्लाही र सिराहाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नगरपालिकाको ९ लाख र स्थानीयको साढे ५ लाख रकम खर्च गर्ने तयारी आयोजकले गरेको छ । प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद एक लाख पचास हजार रुपैयाँको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने बताइएको छ ।








प्रतिक्रिया