
रौतहट, २५ माघ । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्ष पदमा विवाद हुँदा तेस्रो जिल्ला अधिवेशनको बन्दसत्र स्थगित भएको छ । जिल्ला अधिवेशनबाट सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न खोजिए पनि हुन नसकेको हो ।
सेन्टरका निवर्तमान सचिव रमेशकुमार यादव र रानी साह (मञ्जु बराइली)ले अध्यक्षको चाहना राखेपछि सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेको प्रेस सेन्टर रौतहटका सदस्य पवनकुमार उपाध्यायले बताए । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्लीबहादुर कार्कीले साहलाई समर्थन गरेको र केही प्रतिनिधिहरू यादवलाई समर्थन गरेकाले विवाद भएको उनले बताए ।
अधिवेशनमा सहभागी केही पत्रकारहरूले संगठनभित्र नेतृत्व चयन प्रक्रियामा देखिएको विवादप्रति असन्तुष्टि जनाएका छन् । अब पुनः अधिवेशन कहिले हुने भन्नेबारे कुनै निर्णय नभएको प्रेस सेन्टर रौतहटले जनाएको छ ।
प्रेस सेन्टर रौतहटका अध्यक्ष कार्कीका अनुसार विवादलाई टुंगोमा पुर्याएर सम्भतः सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरिनेछ । यस पटक क्रियाशील महिलालाई नेतृत्व दिने आफ्नो चाहना रहेकाले साहलाई समर्थन गरेको उनले बताए ।
रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार आयोजित अधिवेशन उद्घाटन सत्र सकिएर बन्दसत्रमा विवाद भएको थियो ।








प्रतिक्रिया