
काठमाडौं, १६ माघ । गृहमन्त्री रमेश लेखकले सहिद दिवसको अवसरमा सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिनएका महान शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताए । उनले सहिदहरूको संघर्ष र बलिदानकै कारण स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए ।
विज्ञप्तीमा भनिएको छ, ‘सहिदहरू राष्ट्रका अमूल्य निधी हुन् । सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएका छौँ । सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई उहाँहरूको बलिदानलाई सार्थक बनाउन हामी सबैले संकल्प गर्ने अवसरको दिन पनि हो ।’ उनले शहिद परिवारहरूको सम्मान र हितमा सरकार सधै प्रतिबद्ध रहेको बताए । सहिदहरूले देखाएको मार्गबाट समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्ने उनले बताए ।








प्रतिक्रिया