
चरिकोट, १३ माघ । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडास्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ ।
विद्यालयले स्थापनाको ५० वर्ष पूरा गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । ‘हामी सबैको ईच्छा : गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ ।
यही माघ १७ देखि २१ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेर विद्यालयको स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीहरुका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ । जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’ले कार्यक्रमको उद्घाटन गर्नेछन् । दोस्रो दिन जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिनेछ ।
त्यस्तै, तेस्रो दिन गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिकास्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ । पाँचौ दिन भलिबलको फाइनल खेल, सम्मान तथा पुरस्कार वितरणसँगै स्वर्ण महोत्सवको समापन गरिनेछ ।
सहप्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५०औँ वर्ष पूरा गर्न लागेकोले शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताए ।
हिलेपानी माविमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज घिमिरेले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले स्वर्ण वर्ष पूरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताए ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक/कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पूर्वाधारको समस्या झेल्दै आएको छ । २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठ पक्की भवन र ट्रस्टका दुई/दुई कोठे ४ वटा भवनहरु छन् । साँघुरो क्षेत्रफल र भौतिक पुर्वाधार अभावका कारण विद्यालयले पठनपाठनमा समस्या झेल्दै आएको प्रअ पाण्डेले बताए ।
२०३१ सालमा स्थापना भएको हिलेपानी संस्कृत मावि जिल्लाको पुरानो शैक्षिक संस्था मध्यको एक हो । यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रुपमा स्थापित थियो । द्धन्द्धकालमा हटाइएको संस्कृत विषय हाल विद्यार्थी अभावलगायतका कारण सुचारु हुन सकेको छैन ।
विद्यालयलाई सहयोग जुट्दै
स्वर्ण महोत्सवको अवसरमा विद्यालयको शैक्षिक उन्नयन लागि सहयोग प्रदान गर्न विद्यालयले सरोकारवालाहरुलाई आव्हान गरेको छ । जसअनुसार स्वर्ण महोत्वस सफल बनाउन आर्थिक सहयोग जुट्ने क्रम जारी छ । स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरुले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक एवं भौतिक सहयोग गर्ने व्यक्तिहरुको नामावली हिलेपानी स्वर्ण स्मारिकामा प्रकाशन हुनेछ । दश हजार वा त्यसभन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा उल्लेख हुने विद्यालयले जनाएको छ ।












प्रतिक्रिया