
काठमाडौं, २३ पुस । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको जनाएको छ । पश्चिम तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका धेरै ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा मधेश, लुम्बिनी तथा कर्णालीका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।












प्रतिक्रिया