१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसका सभाषद्को आक्रोशः ‘हामीलाई किन एमाले र माओवादीको पुच्छर बनाइयो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Senior Leaders During NC Parliamentary Party Meetingकाठमाडौँ, १८ असार । नेपाली काँग्रेसका सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदामा बहुलवाद शब्द नपरेको र धर्म निरपेक्षता शब्द राखिएकोमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

संसदीय दलको आज बालुवाटारमा बसेको बैठकले काँग्रेसका शीर्षस्थ नेतालाई यससम्बन्धी ध्यानाकर्षण गराएका हुन् । संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सभासद्का विचार सुने पनि जवाफ भने दिएनन् ।

शीर्ष नेताले शनिबारको बैठकमा सबै सभासद्को विचार सुनिसकेपछि जवाफ दिनेछन् । आजको बैठकमा सभासद् रामहरि खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक सांसदको सङ्ख्या घटाउन माग गर्नुभयो ।

समानुपातिक सांसदलाई राष्ट्रिय सभामा राखी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद राख्नुपर्छ, राजनीतिक स्थिरताका लागि समानुपातिक सांसद २५ देखि ३० प्रतिशतसम्म मात्र हुनुपर्ने भनी बैठकमा कुरा राखेको सभासद् खतिवडाले भन्नुभयो ।

सभासद् शङ्कर भण्डारीले धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता शब्द राखिनुपर्ने बताउनुभयो । भण्डारीको विचारमा काँग्रेसका अधिकांश सभासद्ले समर्थन जनाएका थिए । “संविधानमा हिन्दू राष्ट्र र धर्म निरपेक्षता दुवै नराखी धार्मिक स्वतन्त्रता शब्द उल्लेख गर्न आज बोल्ने अधिकांश सभासद्ले विचार राख्नुभएको छ ”– सभासद् खतिवडाले भन्नुभयो ।

धर्म निरपेक्षताको एजेण्डा एमाले र माओवादीहरुको भएको भन्दै सभाषदहरुले कांग्रेस उनीहरुको एजेण्डाको पछि-पछि लागेको टिप्पणी गरेका थिए । ‘आफ्नो एजेण्डामा अडिग नरही एमाले र एमाओवादीको पुच्छर भएर हिँड्नुपर्ने के बाध्यता थियो ?’ सभाषदहरुले प्रश्न गरेका थिए । सभासद् रामकृष्ण यादवले संविधान सहमति भएकै बुँदामा जारी गरेर पछि संशोधन गर्दै जानुपर्ने बताउनुभयो ।

बैठकमा सभासद्हरु भरत शाह, उषा गुरुङ, भरत खड्का, केशवकुमार बुढाथोकी, जीवन परियार, किरण यादव र ध्यानगोविन्द रञ्जितलगायतले पार्टीको मूल सिद्धान्त बहुलवाद र संसदीय शासन पद्धतिका विषयमा कसैसँग सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएको बैठकमा सहभागी सभासद् ओमदेवी मल्लले जानकारी दिनुभयो ।