
काठमाडौं, १० असोज । जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघबीच सम्झौता भएको छ । पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्रिकेट संघ र मेटलाइफ नेपालका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ ।
बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतिहरूबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिएको मेटलाइफले जानकारी दिएको छ ।

सम्झौता कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले मेटलाइफले क्रिकेट टोली र क्यानका सदस्यहरूलाई सुरक्षा दिनुले आश्वस्तताको भावना ल्याएको बताउनुभयो । ‘हामी मैदानभित्र र बाहिर दुबैतर्फ सुरक्षित छौ भन्ने आश्वासनले हामीलाई आत्मविश्वासका साथ खेल्न र हामीलाई मनपर्ने खेलमा ध्यान केन्द्रीत गर्न प्रेरणा दिनेछ,’ उहाँले भन्नुभयो ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन प्रदान गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।
‘जीवन सुरक्षित गर्न र आत्मविश्वासी भविष्य सक्षम गर्न प्रतिबद्ध कम्पनीको रूपमा हामीले हाम्रो राष्ट्रको राजदूतको रूपमा सेवा गर्ने र हाम्रो राष्ट्रको गौरवको लागि लड्ने हाम्रा क्रिकेट टोलीका सुरक्षाको महत्व बुझ्दछौं । यस सहयोगले हाम्रो समुदायको भलाइका लागि हाम्रो अतुलनीय समर्पणलाई जनाएको छ,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया