२४ असार २०८३, बुधबार

नेपाली किसानलाई लाभान्वित गर्न अमेरिकाद्वारा २१ मिलियन डलरको परियोजना घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना, गभरमेन्ट टु गभरमेन्टको घोषणा गरेको छ ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लान २०२४-२०२८ को पनि उद्घाटन गरिएको थियो जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो ।

युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारहरुमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई सुदृढ गर्नको लागि नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ । परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लान २०२४-२०२८ ले गरिबी, भोकमरी, र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यस कन्ट्री प्लानअन्तर्गत तराई र पहाडका २६ जिल्लाहरु समावेश हुनेछन् जसअन्तर्गत अमेरिकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेस प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउनेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भन्नुभयो, ‘नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायहरूसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्ने छ र हाम्रो नयाँ गभरमेन्ट टु गभरमेन्ट सम्झौता नेपालमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको एक उदाहरण हो ।’

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, ‘नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि आजको उद्घाटन कार्यक्रम महत्वपूर्ण रह्यो ।’ मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवद्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै यस सहकार्य प्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपालीहरूलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवद्धन र पोषणमा सुधारका लागि १८१ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । यी पहलहरूले गर्दा फिड द् फ्युचर कार्यक्रम सञ्चालन भएको जिल्लाहरुमा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको छ ।