काठमाडौं, १४ असार । संविधानको मस्यौदा संविधानसभामा छलफलका लागि पेस कार्यक्रम अन्तर्गत बोलाइएको संविधान सभाको बैठक राति ११ बजेसम्म पनि बस्न सकेको छैन् ।
संविधानसभा, संविधान मस्यौदा समितिले प्रारम्भिक मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाउने गरी सोमबार विहानै ७ बजे संविधानसभाको बैठक बोलाइएको थियो ।
तर मस्यौदा आफूले भनेजस्तो नभएको भन्दै एकीकृत नेकपा माओवादीले भाँजो हालेपछि संविधानसभाको बैठक राति ११ बजेसम्म पनि बस्न नसकेको हो ।
एमाओवादी नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको भावना विपरीत गएर संविधानको मस्यौदा गरिए त्यो मान्य नहुने निर्णय गरेपछि संविधानसभा बैठक अनिश्चित बनेको बताइएको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको गठबन्धनमा आबद्ध १४ दलको बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, अघिल्लो संविधानसभाले गरेको निर्णय तथा दलबीच भएका सहमतिको विपरीत नजान समेत आग्रह गरेको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मस्यौदा समितिका सभापति सिटौलाले मस्यौदा लेखनमा एकलौटी गर्न खोजेको आरोप लगाए ।
मस्यौदा समितिको पूर्ण बैठकले मस्यौदा पारित गरेको भए पनि दलहरुका आआफ्नै अडान, केही शब्दावली र केही व्यवस्थामा परिवर्तन गर्न खोज्दा उब्जिएको विवाद दिनभरि नै मिल्न सकेन ।
विवाद मिल्ने आशामा सविचवालयले राति ९ बजेका लागि बैठक बोलाए पनि अझैसम्म पनि बैठक बस्न नसकेको संसदका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । चार दलले मस्यौदा संविधानसभामा लैजाने तयारी गरिरहँदा राप्रपा नेपाल र मधेशवादी दलले भने मस्यौदा च्यात्ने निर्णय गरिसकेका छन् । उनीहरुले आफ्ना मागलाई पनि मस्यौदामा समेट्नुपर्ने माग राखेका छन् ।












प्रतिक्रिया