
काठमाडौं, ३१ भदौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्नेगरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।
आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याउनुभएको हो ।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ ।
आयोजनामा ग्लोबल आईएमई, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकास प्रालिद्धारा प्रबर्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुकाअनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । आयोजनाको हेडवक्सदेखि विद्युत गृहसम्मको वास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबैभन्दा धेरै हो ।
नेपाल विद्युत प्राधिकरणसँग यसअघिनै विद्युत खरिद सम्झौता पिपिए भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिले जनाएको छ ।















प्रतिक्रिया