२५ असार २०८३, बिहिबार

अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु : प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनु भएको छ ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु । उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारकाविरुद्ध सडकमा आउँछौं । दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाँइहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’

उहाँले अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ । समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी, अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनु भएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइ दिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’
दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचार विरोधी अभियानका कारण गराएर उहाँहरुले गर्न नहुने काम गर्नुभएको छ । उहाँहरुले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । काँग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिदैन ।’

उहाँले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरुसँग एकताको तयारी भइरहेको जानकारी दिनुभयो ।