१ कार्तिक २०८३, शनिबार

दोरम्बा पहिरो : मृत्यु हुनेको संख्या आठ पुग्यो, २ जना अझै बेपत्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १२ भदौ । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मंगलबारसम्म आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।

उहाँले मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उहाँका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण गाउँपालिकाको वडा नं. ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनालाई जीवितै उद्धार गरिएको थियो भने छ जनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एक जनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको संख्या आठ पुगेको हो ।

पहिरोमा परी हराइरहेका सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता हुनुहुन्छ । उहाँहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।