
काठमाडौं, १ भदौ । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काएको छ ।
रुसी अधिकारीहरुलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट काटिएको बताइएको छ । युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भएको थियो । तर अहिले पुल भत्किएपछि अवरुद्ध भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लागेको बताउनुभएको छ । जेलेन्स्कीकाअनुसार कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने बताउनुभएकोछ ।
यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताउनुभएको थियो । ओलेक्सान्डर सिर्स्कीकाअनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा जनरल सिर्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताउनुभएको छ ।
युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताउनुभएको छ ।
युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन् । हालसम्म युक्रेनले ११५० वर्ग किमी, ८२ वस्तीहरू नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया