१२ श्रावण २०८३, मंगलबार

बंगलादेशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो, देशवासीसँग न्याय माग्छु : हसिना

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गर्नुभएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताउनुभएको छ । देशलाई स्वतन्त्रता दिलाउनुभएका बंगबन्धु शेख मुजिबुर रहमानको अपमान गरिएको भन्दै देशवासीसँग न्याय माग्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ । उनीहरू (प्रदर्शनकारीहरू)ले मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’

अगस्ट ५ मा देश छोडेर भारतमा रहनुभएकी हसिनाको विज्ञप्ति उहाँका छोरा सजीब वाजेदले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।

हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन आग्रह गर्नुभएको छ । मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो । अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा रद्द गरेको छ ।

हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन् । म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु ।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिएका थिए । हसिनाले भन्नुभयो, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु ।’

यसअघि हसिनाको भनाइलाई लिएर पनि दाबी गरिएको थियो । यस दाबीअनुसार हसिनाले अमेरिकालाई सेन्ट मार्टिन टापु नदिँदा आफ्नो सरकार ढालिएको बताउनुभएको थियो । इकोनोमिक टाइम्सकाअनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूलाई भन्नुभयो, ‘म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्न दिन चाहन्नथेँ ।’ ‘उनीहरूले विद्यार्थीहरूको लाशहरूमार्फत शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले आफ्नो पद छोडेर त्यो हुन दिइनँ ।’ उहाँले भन्नुभएको छ ।

यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरेको थियो । अमेरिका यहाँ सैन्य आधार बनाउन चाहन्छ । यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताउनुभयो ।

सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ । त्यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताउनुभएको थियो ।

बंगलादेशको सेन्ट मार्टिन टापु रणनीतिक रूपमा महत्त्वपूर्ण छ, म्यानमारबाट यसको दूरी मात्र ८ किलोमिटर छ ।