२४ कार्तिक २०८३, मंगलबार

प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई इन्चार्ज भट्टराईको निर्देशन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । मंगलबार बागमती प्रदेश एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त हुनुभएका मन्त्रीहरुलाई इन्चार्ज डा. भट्टराईले यस्तो निर्देशन दिनुभएको हो ।

इन्चार्ज डा. भट्टराईले पछिल्लो समय प्रदेशप्रति देखिएको वितृष्णालाई हटाउन मन्त्रीहरुले राम्रो काम गरेर जनतामा आशा जगाउनुपर्ने बताउनुभयो ।

‘पछिल्लो समय प्रदेशप्रति देखिएको वितृष्णालाई हटाउन मन्त्रीहरूले राम्रो काम गरेर जनतामा आशा जगाउनुपर्छ । अहिले तपाईंहरूलाई आफ्नो योग्यता, क्षमता र इमानदारिता देखाउने अवसर छ ।’ इन्चार्ज डा. भट्टराईले भन्नुभयो । उहाँले पार्टीले विश्वास गरेर पठाएका मन्त्रीहरुलाई जनतासँग जोडिनका साथै ख्याल गरेर काम गर्नसमेत निर्देशन दिनुभयो ।

त्यसैगरी, एमाले बागमती प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री कैलाश ढुंगेलले पनि सुनौलो बागमती निर्माण गर्नका लागि एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई अवसर भएको बताउनुभयो । उहाँले यो सरकार लामो समयसम्म जाने बताउँदै चुस्त दुरुस्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले वर्तमान अवस्थामा भइरहेको गतिविधिका बारेमा बिफ्रिङ गर्नुभएको थियो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, एमाले केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, केन्द्रिय सदस्य बाबुराम थापा, एमाले बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामालगायत मन्त्री तथा सांसदहरुको उपस्थिती रहेको थियो ।