१७ कार्तिक २०८३, मंगलबार

सरकार परिवर्तनले सिंगै देशलाई आशा जगाएको छ : प्रधानमन्त्री ओली

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठुलो कुरा नभएको बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले आज बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको बताउनुभएको हो । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उहाँको भनाइ छ । ‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ र सिङ्गै देशलाई पनि जगाएको छ’, उहाँले भन्नुभयो ।

भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुनका लागि होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पार्नुभयो ।

यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छ, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’, उहाँले भन्नुभयो ।

अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको उहाँले बताउनुभयो । नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताउनुभयो ।

हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उहाँले बताउनुभयो । त्यसलाई गृह मन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहनुभएको उहाँले सुनाउनुभयो । प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा कसरी गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले बताउनुभयो । उहाँले गत वर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिनुभयो ।

ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताउनुभयो । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उहाँले भन्नुभयो । ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको बताउनुभयो । हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको बताउँदै उहाँले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने ओलीले प्रष्ट पार्नुभयो ।

सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गर्नुभयो । नागरिकको आत्मीयता र माया मर्न नदिने उहाँले विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताउनुभयो।