
काठमाडौं, १ असार । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरुमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
शनिबार लोक सेवा आयोगको ७४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रुपमा सधै आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रुपमा सधै आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ । सो जिम्मेवारी सहितको काममा आयोग सफल भएको पनि छ । आयोग योग्यताका सबै तत्वहरु पूर्वानुमान हुनेगरी आफ्नो परीक्षण विधिहरुमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै अघि बढ्नुपर्छ । यसले उत्कृष्ट कर्मचारीको छनोटमा टेवा पुग्छ । मुलुकमा सुशासन कायम गर्ने मूल मर्मसहितको मार्गमा विचलित हुनुहुँदैन ।’
आयोगले कर्मचारी भर्ना प्रक्रियालाई वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरुको सामना गर्नेगरी समयानुकुल बनाउनुपर्ने यादवले बताउनुयो । उहाँले अघि भन्नुभयो, ‘आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरुको सामना गर्न सक्ने सबै खालको परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्ति सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता छ । आयोगले संघीयता अनुरुप समावेशी समूहतर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्नेगरी कार्यसम्पादन गर्न आवश्यक छ ।’








प्रतिक्रिया