काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ ।
त्यस्तै, अन्य हिमाली भू–भाग, पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
महाशाखाको पूर्वानुमानअनुसार देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।












प्रतिक्रिया