२१ असार २०८३, आइतबार

नेकपा एसको युवा संघमा चर्कियो विवाद

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ ।

युवा संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ । उहाँहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ ।

पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो । तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेको थियो । भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सहसंयोजकको जिम्मेवारी फुर्वा लामाले पाउनुभएको थियो ।

सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले समानान्तर कमिटी गठन गरेकोमा पौडेललाई आत्मआलोचना गर्न निर्देशन दिएको भए पनि आफैले आफैलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत गरेको बताउनुभयो ।

‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ । कमिटी, संगठन नेतृत्व छ । सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैले आफैलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन । यस हर्कतले हामीलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बनाएको छ ।’ उहाँले भन्नुभयो, ‘यस्ता गतिविधि निरन्तर हुन थालेपछि कार्यालय कमिटीको बैठकबाट विधानमा भएको व्यवस्थाअनुरुप सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ । र, यसको जानकारी पार्टीलाई पठाइसकिएको छ ।’

संयोजक विक पार्टीका नेता झलनाथ खनाल निकट हुनुहुन्छ भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुनुहुन्छ ।