सुशील खड्का
सुर्खेत, २४ जेठ । सुर्खेतका ग्रामिण भेगमा रहेका सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) मा तालिम नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन् । गर्भवती, सुत्केरी र सुत्केरीपछिको अवस्थामा हुने महिलाको मृत्युदरलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा रहेका सुत्केरी केन्द्रमा अनमीले २ महिने एसवीए (सुरक्षित सुत्केरी गराउने) तालिम लिनुपर्ने मापदण्ड भएता पनि तालिम नलिएर नै अनमीले सुत्केरी गराउदै आएका हुन् ।
जिल्लामा मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सहित ४८ वटा सुत्केरी केन्द्र छन् । हरेक सुत्केरी केन्दमा दरबन्दी रहेका अनमीले २ महिनाको एसबीए तालिम लिएर मात्र सुत्केरी गराउनु पर्दछ । तर, नेपाल सरकारले एसवीए कार्यक्रम लागू गरेता पनि रकम अभावको कारण जनाउदैँ अनमीलाई तालिम दिन नसकिएको जिल्ला स्वाथ्य कार्यालयको भनाइ छ ।
अनमीले एसवीए तालिम प्राप्त गरेर मात्र सुत्केरी गराउने सरकारको मापदण्ड रहेता पनि जिल्लामा यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । काम गर्ने अधिकांश अनमी तालिम नलिएर नै कार्यक्षेत्रमा जाने गरेको बताउँछन् । जिल्ला स्वाथ्य कार्यालयले दिने एसवीए तालिममा लिएका केही अनमीलाई सुगम क्षेत्रमा राख्ने र तालिम नलिएकालाई ग्रामीण भेगमा पठाउने गरेका स्रोतले बतायो । भनसुन र पहुँचका आधारमा दक्ष एसवीए तालिम प्राप्तलाई सजिलो क्षेत्रमा राखेर अहिलेसम्म तालिम नै नलिएकालाई ग्रामिण भेगमा राखेको एक स्वाथ्य चौकीका इन्चार्जले बताए । धेरै जसो सुत्केरी केन्द्रमा भौतिक पूर्वाधारको कठिनाईका कारण सुत्केरीले पाउने गुणस्तरिय सेवा समेत पाउन नसकेको स्थानीयबासीको गुनासो रहेको छ । सरकारले सुत्केरी केन्द्र भनेर तोक्ने तर हुनुपर्ने सेवा नभएको स्थानीयबासी गणेश रानाले बताए । उनले भने ‘अनमीलाई एसवीए तालिम पनि दिएको छैन्, न त सुत्केरी केन्द्रमा हुनुपर्ने सामग्रीको व्यवस्थापन नै भएको छ ।’
सुरुमा एसवीय तालिम नलिएर ग्रामिण भेगमा गएर सुत्केरी गराउँदा निकै अप्ठेरो हुने गरेको हरिहरपुर स्वाथ्य चौकीमा कार्यरत दुर्गा विसीले बताइन् । उनले भनिन, ‘झण्डै २ वर्ष पछि आफूले अहिले एसवीए तालिम लिईरहेको छु ।’
२४ घण्टा प्रत्यक्ष रुपमा सेवा दिने गरी हेरक सुत्केरी केन्द्रमा २ जना अनमीको दरवन्दी रहन्छ । जुन आवश्यक परेमा दरवन्दी बढाउने व्यवस्था भएतापनि जिल्लाका कतिपय ग्रामिण भेगका सुत्केरी केन्द्रमा अनमी एक्लै सुत्केरी गराउदैँ आएका छन् । उनीहरु भन्छन् ‘एकातिर स्वाथ्यले तालिम दिदैन्, अर्कोतर्फ दरबन्दी अनुसारका कर्मचारी समेत नपठाउँदा एक्लै काम गर्नुपर्छ ।’
सुत्केरी केन्द्रका लागि हरेक स्वाथ्य चौकीमा २ वटा कोठा, २ जना अनमी र २४ सै घण्टा सेवा दिनुपर्ने सरकारको मापदण्ड रहेको छ । तर, जिल्लामा काम गर्ने केही अनमी काजमा गएका छन् भने केहीले एक्लै सेवा दिइरहेका छन् ।
भौगोलिक विकटता रहेको सुर्खेतमा जिल्ला स्वाथ्य कार्यालयले गुणस्तरीय सेवा दिदैँ आएको दावी गरेको छ । तर, रामघाट स्वास्थ्य चौकीमा दुइ जना सुत्केरी हुन आएमा भुईमा राखेर सेवा लिनु परेको रामघाटकी पार्वती विकले बताइन् । उनले भनिन् ‘सदरमुकाम घुम्नेले कसरी ग्रामीणको पीडा बुझ्छन् ।’
ग्रामीण भेगका सबै सुत्केरी केन्द्रमा न्यूनतम सामग्री, हरेक केन्द्रमा २ देखि ३ जना अनमीको व्यवस्थापन भएको स्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईले बताए । उनले भने ‘केही भौतिक पूर्वाधारका कारण कर्मचारी व्यवस्थापन र अन्य सुविधा दिनमा कठिनाई छन् ।’ सवै सुत्केरी केन्दमा अनमी छन् प्रमुख चापाईगाइ भन्छन् ‘हामीले २४ सै घण्टा सेवा दिदैँ आएका छौँ ।’
आर्थिक वर्ष २०६४ / ०६५ बाट ग्रामीण भेगका गाविसहरुमा वर्थिङ सेन्टर स्थापना भएको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयमा रहेको छ । जिल्लाका मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सहित सालकोट, दशरथपुर, मेहलकुना, अवलचिङ्ग, लेखगाँउ, विजौरा, लगाम, बेतान, काप्रिचौर लगाएतका गाविसमा सुत्केरी केन्द्र रहेका छन् ।
















प्रतिक्रिया