११ असार २०८३, बिहिबार

अमेरिकाले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न एमसीसी ल्याएको झलनाथ खनालको दाबी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकाले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न खोजेको दाबी गर्नुभएको छ ।

शनिबार पार्टीको हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । चीनलाई ध्वस्त पार्नकै लागि अमेरिकाले नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ल्याएको उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले एमसीसी राष्ट्रघाती र अपमानजनक सम्झौता भएको पनि उल्लेख गर्नुभयो । एसपीपीमार्फत् नेपाललाई सैनिक अड्डा बनाउन अमेरिकी शक्तिहरु अझै तल्लिन रहेको उहाँले बताउनुभयो ।

खनालले अमेरिकी साम्राज्यवादीको शक्तिहरु समाप्त भईनसके पनि विस्तार कमजोर हुँदै गएको जिकिर गर्नुभयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी हाबी हुँदै गएको पनि बताउनुभयो । कम्युनिष्ट नेताहरुमा सैद्धान्तिक र राजनीतिक विचलन भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रमा सामन्तवादी शोषण अन्त्य भएपनि पूँजीवाद शोषण भने भयावह रुपमा फैलिरहेको बताउनुभयो । पूँजीवादले सामाजिक विभेद र भ्रष्टचारलाई संरक्षण गर्दै विस्तार गर्ने भएकोले समाजवादको स्थापना अनिवार्य नै भएको उहाँले बताउनुभयो । आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न भने अझै बाँकी रहेको खनालको भनाई थियो ।