६ कार्तिक २०८३, शुक्रबार

किन बढ्न सकेन एसएलसी नतिजाको प्रतिशत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parikchhya-niyantrak

काठमाडौँ, ४ असार । अघिल्लो वर्षभन्दा करिब पाँच प्रतिशत वृद्धि देखिनाले प्रवेशिका परीक्षाको नतिजामा प्रगति मनिए पनि अपेक्षाकृत सुधार नभएको विज्ञले बताएका छन् ।

निराशाजनक नतिजा आएका बेला ‘विद्यार्थीले पढेनन्, शिक्षकले पढाएनन् तथा सरकारको शिक्षा प्रणाली कमजोर भयो’ जस्ता आक्रोशपूर्ण प्रतिक्रिया दिने विज्ञहरु यस पटक तुलनात्मक रुपमा सकारात्मक देखिएका छन् ।

आज सार्वजनिक भएको प्रवेशिका परीक्षाको परीक्षाफलानुुसार नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । केही प्रतिशतमा नतिजा राम्रो देखिए पनि परीक्षा बोर्डका अध्यक्ष तथा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित, शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमाल र परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेलगायत अधिकारी हँसिलो मुद्रामा पत्रकारसामु प्रस्तुत भएका थिए ।

यद्यपि नतिजाको सुधार परीक्षा नियन्त्रण कार्यालयले गर्ने होइन, यो वर्षभरिको शिक्षण प्रक्रियाको प्राविधिक मूल्याङ्कन मात्र हो । शिक्षा मन्त्रालयले यसै वर्षदेखि प्राविधिकतर्फ लब्धाङ्कपत्रमा उत्तीर्ण तथा अनुत्तीर्ण उल्लेख नगरी अक्षराङ्कन प्रणाली लागु गरिरहेका सन्दर्भमा उत्तीर्ण तथा अनुत्तीर्णको सन्दर्भ क्रमशः सामान्य हुने देखिएको छ । माथिल्लो कक्षामा राम्रो विषय पढ्न वा रोजगारको बजारमा पढाइ र प्रतिशतको गणना हुने भएकाले यसमा विद्यार्थी र अभिभावकको चासो उत्तिकै देखिन्छ ।

सरकारले विसं २०६६ मा ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रमको लक्ष्यानुसार अहिलेको नतिजा ७० प्रतिशतको हाराहारीमा आउनुपर्ने हो भने दुई वर्षअघिदेखि नै कक्षा १२ सम्म माध्यमिक शिक्षाको संरचना कायम गरी कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हट्नुपर्ने हो । विसं २०६४ मा ६३ प्रतिशतसम्म पुगेको नतिजा त्यसभन्दा माथि उक्लन नसके पनि घट्ने र बढ्ने भइरहेको छ ।

यस वर्ष प्रकाशित नतिजाका बारेमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला भन्नुहुन्छ, “प्रगति भयो तर अपेक्षा पूरा भएको छैन ।” किन यस्तो भयो भन्ने प्रश्नको जवाफमा सिधा र सरल जवाफ दिँदै डा कोइरालाले भन्नुभयो, “शिक्षकले भत्ता मात्र खायो, तालिम खाएन, कमजोर भए पनि ऊ पेसा छाड्दैन किनकि शिक्षक भएपछि राजनीति गर्न पाइन्छ, राजनीतिले अहिलेसम्म शिक्षकलाई पढाउनुपर्छ भनेकै छैन ।”

दोष शिक्षकको मात्र हो भन्नेमा शिक्षकहरु सहमत छैनन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्मा शिक्षकले विद्यार्थीलाई सुधार गराउन मेहनत गराउनुपर्नेमा दुईमत नरहे पनि त्यसका लागि युवाको शिक्षण पेसामा प्रवेश, कार्यरत शिक्षकलाई उत्प्रेरणा र ताजगीकरण गर्न सरकार चुकेको तर्क गर्नुहुन्छ । शर्मा भन्नुहुन्छ, “शिक्षकले पढाएनन् भनेर कराएर मात्र पुग्दैन, त्यसका लागि के का बाधा छन्, कुन विषयमा शिक्षक किन कमजोर छन् भनेर हेर्ने र सुधारका लाििग लगानी बढाउनुपर्छ ।”

शिक्षा विश्लेषक टीका भट्टराई पनि पाँच प्रतिशत मात्रै वृद्धि हुनुलाई ठूलो उपलब्धि मान्नुहुन्न । उहाँको विचारमा विद्यार्थीको समग्र क्षमताको परीक्षण हुने प्रणाली विकास गर्नु आवश्यक छ । रासस