कञ्चनपुर, ४ असार । कञ्चनपुरको कृष्णपुर–७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी तीन दिनदेखि बेपत्ता छन् । चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेन ।
फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी काम परेकाले भेट्न भनेपछि उनी घरबाट निस्केका थिए ।
चौधरीका परिवारका अनुसार उनले फोनकर्तालाई टाढा भेट्न नसकिने तर राजमार्गसम्म भेट्न सकिने बताएपछि उनलाई राजमार्गमै भेट्न भनिएका थियो ।
चौधरी राजमार्गमा फोनकर्तालाई भेट्न गएपछि घर फर्केर आएन । उनको अपहरण भएको आशङ्का गरिएको छ ।
चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उनको अपहरण गरिएको हुनसक्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
प्रहरी स्रोतका अनुसार घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान कार्य सुरु गरिएको छ । भट्टले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा अपरिचित व्यक्तिहरुले पेस्तोल कञ्चटमा लगाएर मोबाइल फोन खोसेर लगेको बताएको स्रोतले राससलाई जानकारी दिएको छ । फोन खोसेर लैजाने व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले चौधरी बेपत्ता भएको घटना निकै गम्भीर भएकाले अनुसन्धान र खोजी कार्यलाई गहन रुपमा अगाडि बढाइएको बताउनुभयो ।
“घटना निकै गम्भीर प्रकृतिको भए पनि चाँडै अपराधी पत्ता लगाएर सार्वजनिक गर्छौं,” उहाँले भन्नुभयो । रासस















प्रतिक्रिया