बागलुङ, ४ असार । मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ ।
भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा गर्न पाउने भएका छन् ।
यातायात भाडा निर्धारण समितिको बिहीबार बसेको बैठकले मध्य पहाडी लोकमार्गअन्तर्गत बागलुङ सदरमुकामदेखि बुर्तिवाङसम्म गुड्ने साना ठूला दुवै सवारीसाधनमा असार ७ गतेदेखि लागू हुनेगरी भाडादर कटौती गरेको भाडा निर्धारण समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
बैठकले सो सडकखण्डमा गुड्ने साना सवारीसाधन जिपमा प्रतिकिमी सात रुपैयाँ ५० पैसा र ठूला सवारीसाधन बसमा प्रतिकिमी.६ रुपैयाँ ५० पैसा भाडा कायम गरेको उहाँले बताउनुभयो ।
यसअघि यस सडकखण्डमा जिपले प्रतिकिमी आठ रुपैयाँ ५० पैसा र बसले प्रतिकिमी सात रुपैयाँ ५० पैसा भाडा लिँदै आएकामा अहिले पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, सडकको स्तर वृद्धिले गर्दा समय अनुकूल भाडा निर्धारण गरेको उहाँले बताउनुभयो । रासस













प्रतिक्रिया