काठमाडौँ, ३ असार । नेकपा एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियान तेस्रो साता पूरा गरी चौँथो सातामा प्रवेश गरेको छ ।
तीन साताको अवधिमा एमालेका स्वयमसेवकहरुले २२ हजार ५ सय ६७ वटा नयाँ अस्थायी घर टहरा बनाएको भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिका संयोजक समेत रहेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलबाट जारी विज्ञप्तिमा उल्लेख छ । एमालेको स्वयंसेवी अभियानबाट एक लाख भन्दा बढी पीडितहरुलाई राहत मिलेको पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलका अनुसार, ९ सय ७८ भन्दा बढी विद्यालयका अस्थायी भवनहरू निर्माण गरेर लाखौं विद्यार्थीहरूको पठनपाठनलाई सुचारु गर्न सहयोग पुर्याइएको छ । २० हजार ४४८ भन्दा बढी क्षतिग्रस्त घर–संरचनाका भग्नावशेषबाट सामग्री निकालेर एमाले स्वयंसेवकहरुले व्यवस्थापन र सरसफाइ गरेका छन् ।
यसरी बित्यो तीन साता, हेर्नुस् प्रेस विज्ञप्ति जस्ताको तस्तैः
नेकपा (एमाले)द्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियान तेस्रो साता पूरा गरी चौथो सातामा प्रवेश गरेको छ । विगत २५ दिनसम्मको अथक परिश्रमद्वारा हाम्रा स्वयंसेवकहरूले विनाशकारी भूकम्पका कारण निरास, हतास र सङ्कटग्रस्त अवस्थामा रहेका लाखौं पीडितहरूको मनमा आशा र विश्वासको बलियो आधार निर्माण गर्न सफल हुनुभएको छ । विपत्तिका बेलामा आफूलाई साथ दिने सहयोगी हातहरू छन् भन्ने भरोसा जगाउनु, इच्छाशक्ति छ भने सीमित साधनस्रोतका भरमा पनि नवनिर्माणको अभियान सुरु गर्न सकिन्छ भन्ने आत्मविश्वासलाई प्रबद्र्धन गर्नु, पार्टीहरू जनताका सेवक र सहयोगी हुन् भन्ने तथ्यलाई पुनःपुष्टि गर्नु, राष्ट्रिय विपत्तिका बेला सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र भूगोलका जनताबीच अभूतपूर्व राष्ट्रिय एकताभाव निर्माण गर्नु र सर्वोपरि रूपमा, विनाशकारी भूकम्पले सिर्जना गरेको यो सङ्कट अस्थायी हो र यसमाथि विजय हासिल गरेर नवनिर्माणका माध्यमबाट नेपाललाई अझ सबल र समृद्धरूपमा स्थापित गर्न सकिन्छ भन्ने राष्ट्रिय मनोबल निर्माण गर्नसक्नु यस अभियानका महत्वपूर्ण सन्देशहरू हुन् भन्ने हामीले निष्कर्ष निकालेका छौं ।
२. मूलतः मृतकका परिवार, एकल महिला, बृद्धबृद्धा, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा दलित र विपन्न समुदायलाई लक्षित गरेर अगाडि बढाइएको अस्थायी घर निर्माणको यस अभियानअन्तर्गत हालसम्म २२,५६७ वटा नयाँ अस्थायी घर बनाइएका छन् । १ लाखभन्दा बढी पीडितहरूलाई बर्षाअगावै सुरक्षित छानोभित्र पु¥याउन सकेकोमा हामीलाई खुशी लागेको छ । यसैगरी ९७८ भन्दा बढी विद्यालयका अस्थायी भवनहरू निर्माण गरेर लाखौं विद्यार्थीहरूको पठनपाठनलाई सुचारु गर्न सहयोग पु¥याइएको छ । २०,४४८ भन्दा बढी क्षतिग्रस्त घर–संरचनाका भग्नावशेषबाट सामग्री निकालेर व्यवस्थापन र सरसफाई गरिएको छ । दर्जनौं स्वास्थ्य चौकी, गाविस कार्यालय, सामुदायिक भवन, आमा समूहका घर, क्षतिग्रस्त खानेपानी, सडक र अन्य भौतिक संरचना मर्मत गरिएको छ । यसैगरी अविरल बर्षात्का कारण गएको पहिरोमा परी जनधन गुमाएका ताप्लेजुङका पीडितहरूका लागि पनि स्वयंसेवकहरूले सहयोग पु¥याएका छन् ।
३. अभियानअन्तर्गत गत जेठ ३१ गते हजारौं स्वयंसेवकहरूबाट संस्कृति मन्त्रालयसँगको समन्वयमा वसन्तपुर दरबार स्क्वायरमा क्षतिग्रस्त काष्ठमण्डपलगायत सांस्कृतिक संरचनाका मूल्यवान काष्ठकलासमेतका सामग्रीहरूलाई सुरक्षित व्यवस्थापन गरिएको छ । काठमाडौं उपत्यकाका पर्यटकीय सम्पदाहरूलाई भ्रमणका लागि खुल्ला गरिने जुन १५ को पूर्वसन्ध्यामा सञ्चालित यस अभियानले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि महत्वपूर्ण सहयोग पु¥याएको छ । त्यसरी नै हामीले चाङ्गुनारायण र पाटनको बटुक भैरव मन्दिर परिसरमा पनि स्वयंसेवक अभियान सञ्चालन गरेका छौं । हिजोमात्र नेपाल ट्र्ेड युनियन महासङ्घ (जिफन्ट) र प्रगतिशील पेशागत इन्जिनियर्स एसोसियसन (पिपिइए) को सहयोगमा निर्मित ३७ घर र एउटा सामुदायिक भवन काभ्रेको चतुरेमा स्थानीयवासीहरूलाई हस्तान्तरण गरिएको छ ।
४. अभियानअन्तर्गत भोलि असार ४ देखि ६ गतेसम्म भूकम्पग्रस्त क्षेत्रका सबै पार्टी नेता, कार्यकर्ता र सदस्यहरूलाई अनिवार्यरूपमा स्वयंसेवी अभियानमा सहभागी हुन निर्देशन गरिसकिएको छ । पचासौं हजार व्यक्ति सहभागी हुने यस अभियानले भूकम्पले पु¥याएको पीडालाई कम गर्न र नवनिर्माणको नयाँ सन्देश सम्प्रेषित गर्न सहयोग पुर्याउने विश्वास हामीले लिएका छौं । स्वयंसेवी भावना, जनमुखी कार्यशैली र निस्वार्थ सेवाभावका साथ स्थानीयरूपमा व्यवस्थित योजना बनाएर समर्पित हुन सबै पार्टी कार्यकर्ताहरूलाई यस अवसरमा हार्दिक आह्वान गरिन्छ । कुनै पनि बहाना बनाएर अभियानबाट बिमुख हुनुलाई पार्टी निर्देशनको उपेक्षा र श्रमजीवी वर्गीय भावनाको कमीका रूपमा मूल्याङ्कन गरिनेछ ।
५. यस अभियानको अन्तिम कार्यक्रमका रूपमा असार ८ गते मुख्य पर्यटकीय केन्द्र या पदमार्गहरूमा पार्टी नेताहरूको समुपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । स्वदेशी÷विदेशी पर्यटकहरूलाई स्वागत–सत्कार, पर्यटकीय सम्पदाको सरसफाइ एवं भूकम्पले सीमित क्षेत्रमा क्षति पुर्याएको भए पनि नेपाल पर्यटनका लागि सुरक्षित र आकर्षक गन्तव्यका रूपमा रहेको छ भन्ने सन्देश यस कार्यक्रममार्फत् सम्प्रेषित हुनेछ । कार्यक्रमलाई सफल पार्न पर्यटनसम्बद्ध सबै सङ्घ–संस्थाहरूलाई विशेष भूमिकाका लागि आग्रह गर्दछौं । यस कार्यक्रमको पार्टीका पदाधिकारी र स्थायी कमिटीका सदस्यहरूले अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
६. असार १० गते विधिवत्रूपमा यो अभियानको समापन हुनुपूर्व सबै अनुगमनकर्ता, राजनीतिक संयोजक, निर्देशक र कमाण्डर–उपकमाण्डरहरूलाई गरिएका कामहरूको व्यवस्थित अभिलेख र अभियानको समीक्षासहित समग्र प्रतिवेदन तयार गर्न र दैनिक उपस्थिति(हाजिरी)सहितको प्रतिवेदन स्वयंसेवक परिचालन अभियानको सचिवालयमा पठाउन निर्देशित गरिन्छ । यसका आधारमा राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको समग्र समीक्षा गरिने र स्वयंसेवकहरूलाई औपचारिक रूपमा सम्मानित गरिने व्यहोरासमेत जानकारी गराउँछौं ।
७. यस अभियानका दौरान प्राप्त अनुभवका आधारमा हामी नेपाल सरकारलाई निम्न बिषयमा तत्काल आवश्यक नीति बनाउन र निर्णय गर्न ध्यानाकर्षण गराउन चाहन्छौंः
– राष्ट्रिय विपत्तिका बेला स्वयंसेवा गर्नु हरेक नागरिकको कत्र्तव्य हो । निर्माणाधीन संविधानमा मौलिक कर्तव्यका रूपमा यस बिषयलाई उल्लेख पनि गरिएको छ । तर यसपटक भूकम्पले निम्त्याएको महाविनाशको बेला राज्यकै तर्फबाट औपचारिक आह्वान गरेर व्यवस्थित ढङ्गले स्वयंसेवा अभियान सञ्चालन गर्ने काम हुन सकेन । यसबाट शिक्षा लिंदै स्वयंसेवक परिचालन अभियान सञ्चालनको व्यवस्थित कार्यविधि बनाउने, हरेक नागरिकलाई विपत्तिका बेला स्वतःस्फूर्तरूपमा स्वयंसेवामा लाग्ने उत्पे्ररणा जगाउने र स्वयंसेवकहरूले पुर्याएको योगदानको व्यवस्थित अभिलेख राखिने लगायतका बिषयमा आवश्यक नीतिगत व्यवस्था गरिनुपर्छ ।
– सरकारले उपत्यकाका तीनवटै जिल्लालाई थप एक बर्षका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । ध्वस्त संरचनाको व्यवस्थापनलगायत बिषयमा यो निर्णय उचित भए पनि यसले पर्यटन उद्योगमा भने गम्भीर नकारात्मक प्रभाव पार्ने संभावना बढाएको छ । यस्तो घोषणाले यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूको बीमालगायत बिषयलाई जटील बनाउछ र पर्यटन क्षेत्रलाई थप अप्ठ्यारोमा पार्छ । त्यसैले पर्यटकीय स्थलहरूलाई ‘सङ्कटग्रस्त क्षेत्र’ को दायरा बाहिर राख्ने व्यवस्था अविलम्ब गरिनुपर्छ ।
– असार १० गते गर्न लागिएको अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई परिणाममुखी र सफल बनाउन व्यवस्थित तयारी गरिनुपर्छ । सम्मेलनमा नेपालको प्रस्तुति सबैथोक सकिएको, कमजोर र याचकका रूपमा होइन, सङ्कटबाट उठ्न कठोर प्रयत्न गरिरहेको, पुनर्निर्माणको आत्मविश्वास र स्पष्ट कार्ययोजना भएको मुलुकका रूपमा हुनुपर्छ । यस अभियानमा राज्यले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा अन्तर्राष्ट्रिय मित्रहरूको सहयोग खोजिनुपर्छ ।
– भूकम्पपीडितहरूलाई खरिद गरिएको त्रिपाललगायत सामग्रीमा अनियमितता भएको, कतिपय दातृ निकायहरूबाट भइरहेको राहत वितरणबारे सरकारी निकायसँग कुनै समन्वय नभएको र कतिपय स्थानमा नक्कली पीडितहरूको बिगबिगी बढिरहेको भनेर सार्वजनिक सञ्चारमाध्यममा आइरहेका समाचारबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा निष्पक्ष छानविन गरी दोषीहरूलाई अविलम्ब कडा कानुनी कारबाही गरिनुपर्छ ।
– भूकम्पले ल्याएको विनाससँगै आगामी बर्षायाममा बाढीपहिरो, कटान–डुबान तथा राजमार्ग अवरुद्ध भएर आवतजावत र अत्यावश्यकीय सामग्रीको आपूर्तिमा ठूलो व्यवधान आउने जोखिम अत्यधिक बढेको छ । यस संभावनालाई ध्यानमा राख्दै विपत् व्यवस्थापनको पूर्व तयारीलाई चुस्त राख्न, जोखिमयुक्त बस्तीलाई अस्थायी रूपमा भए पनि सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, राजमार्ग अवरुद्ध हुन नदिने सुनिश्चितता गर्न र खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यकीय बस्तुहरूको पर्याप्त भण्डारण गर्ने व्यवस्था गरिनुपर्छ ।
– राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनको सहकार्यमा जारी स्वयंसेवक परिचालन अभियानअन्तर्गत भूकम्प प्रभावित ११ जिल्लाहरूमा ७ सय जना स्वास्थ्यकर्मी र मनोपरामर्शदाताहरू परिचालन गरी प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहका विद्यालयहरूमा मनोपरामर्श प्रदान गर्ने क्रम जारी रहेको छ ।
– जेठ २५ गते प्रमुख चार दलबीच भएको १६ बँुदे सहमतिले संविधान निर्माणको सुनिश्चित आधार निर्माण गरेको छ । संविधान मस्यौदाको काम अगाडि बढेको खबरले जनतामा आशा र विश्वासको सञ्चार गरेको छ । हामी संविधान मस्यौदाको कामलाई तीब्र गतिमा अगाडि बढाउन, स–साना मतभिन्नतामा नअल्झिन, छिटोभन्दा छिटो संविधान जारी गर्ने कुराको सुनिश्चितता गर्न आग्रह गर्दछौं । असहमति प्रकट गरिरहेका पक्षहरूलाई पनि संविधान निर्माणको प्रक्रियामा सङ्लग्न हुन, संविधानसभाको ९५ प्रतिशतभन्दा बढी सङ्ख्याको यो बृहत् सहमतिलाई सम्मान गर्न र आफ्ना विमतिहरूलाई लोकतान्त्रिक विधिबाट समाधान गर्ने बाटो अवलम्बन गर्न आह्वान गर्दछौं । संविधान निर्माणको यस ऐतिहासिक र निर्णायक मोडमा राज्यका सबै अङ्गहरूको भूमिका यथाशीघ्र संविधान जारी गर्ने बिषयमा सकारात्मक र सहयोगी होस् भन्ने पनि अनुरोध गर्दछौं ।
८. ताप्लेजुङमा गएको भीषण पहिरो तथा हिजो असार २ गते पाल्पाको सिद्धबाबा नजिकै सुख्खा पहिरो र ढुङ्गामा च्याँपिएर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सबै दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
९. ‘नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोष’मा प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात राज्य समितिअन्तर्गत पुना नगर समितिमा आबद्ध नेपालीहरूका तर्फबाट आजै ४,५०,०००।– र मदन–आश्रित स्मृति प्राविधिक शिक्षालय, गोठाटार काठमाडौंका तर्फबाट ५१,१११।– रुपियाँ नगद जम्मा हुने गरी हस्तान्तरण गरिएको छ ।
अन्त्यमा, प्रतिकूल मौसम, अनुभवको कमी, अभाव र अनेकौं समस्याका बीच पनि समर्पणभावका साथ पीडितहरूको सेवामा खटिने स्वयंसेवक साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । अभियानको बाँकी अवधिमा पनि यसैगरी समर्पित हुन आग्रह गर्दछौं । यथार्थमा तपाईंहरूमार्फत् नेकपा (एमाले)ले सेवा, स्वावलम्बन, श्रमको सम्मान, राष्ट्रिय एकता र आत्मविश्वासको नयाँ इतिहास रचिरहेको छ । भूकम्प, बाढीपहिरो, आगजनी लगायतका प्राकृतिक विपत्तिहरू हाम्रो मुलुकको सन्दर्भमा ‘नियमित आकस्मिकता’ का रूपमा रहेका छन् । त्यसैले कुनै पनि प्राकृतिक विपत्तिले जनता आहत भएको बेला माथिको कुनै निर्देशन नपर्खी राहत, उद्धार र पुनर्निर्माणको काममा लाग्न पनि सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गर्दछौं ।
ईश्वर पोखरेल
संयोजक
भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति
महासचिव, नेकपा (एमाले)













प्रतिक्रिया