काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो चीन भ्रमण आर्थिक मुद्दालाई केन्द्रविन्दुमा राखेर दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभएको छ ।
चीन सरकारको निमन्त्रणामा दुईदिने चीन भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा शुक्रबारदेखि सुरु भएको दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रूपका भाग लिएर स्वदेश फर्कनुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“समग्र मेरो चीन भ्रमण आर्थिक मुद्धालाई केन्द्रविन्दुमा राखेर चीनसँगको सम्बन्ध सुदृढ गर्ने दिशामा उपलब्धिपूर्ण भएको विश्वास छ ।”
प्रधानमन्त्री कोइरालाले चीन सरकारका उपप्रधानमन्त्री तथा युनान प्रान्तका उच्चराजनीतिक नेतृत्वसँग भएको भेटवार्ता नेपालको सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर आर्थिक सहयोग विस्तार सुदृढ गर्दै लैजाने बारेमा महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले चिनिया पक्षसँगको भेटवार्ताका क्रममा उत्पादनमूलक एवम् पूर्वाधार विकास खासगरी जलविद्युत्, सडक, रेलवे सेवा विस्तार, कृषि विकासमा चिनिया लगानी भित्र्याउन अत्यन्त गम्भीरताका साथ कुराकानी भएको बताउनुभयो ।
“साथै हवाई सम्पर्क, पूर्वाधार क्षेत्र र पर्यटन क्षेत्रको विकासमा पनि सहयोगको विस्तारमा दुई पक्षबीच कुराकानी भयो,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
उहाँले आगामी दिनमा द्वीपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै लाने, उच्चस्तरमा भ्रमणको नियमित आदानप्रदान गर्ने विषयका साथै चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरेको बताउनुभयो ।
सो क्रममा चिनिया पक्षले पनि नेपालका प्रधानमन्त्री र अन्य उच्च अधिकारीलाई चीन भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री कोइरालाले उपयुक्त समयमा भ्रमण हुने आपूmले विश्वास दिलाएको जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागी हुनआएका विभिन्न देशका प्रमुख एवम् प्रतिनिधिले नेपालमा शान्ति र स्थायित्वका लागि विशेष चासो दिएको पनि उहाँले अवगत गराउनुभयो ।
“चिनिया पक्षले नेपालमा छिट्टै राजनीतिक सङ्क्रमणको अन्त्य गरी छिटोभन्दा छिटो संविधान लेखनको काम पूरा भएर मुलुक विकासको बाटोमा लम्कने विश्वास लिएको छ, मैले पनि नेपालका सबै राजनीतिक दलको सहमतिमा एक वर्षभित्र संविधान लेखनको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको जानकारी दिएँ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
उहाँले नेपालमा हुने आगामी सार्क शिखर सम्मेलनमा भौतिक सहयोगको लागि आग्रह गरेकामा चिनिया पक्षले गम्भीरताका साथ लिदै सकारात्मक भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले युनान प्रान्तमा भएको विकास र प्रगतिको प्रशंसा गर्दै सन् १९६० मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला युनान क्षेत्रमा पर्ने सिल्करोडको बाटो हुँदै भ्रमण गर्नुभएको प्रसङ्ग उल्लेख गनुभयो ।
उहाँले दोस्रो चीन–दक्षिण एसिया व्यापार मेला नेपालको निर्यात व्यापार प्रबद्र्वन गर्न उत्पादनमूलक र पूर्वाधारको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन र पर्यटन विकासमा टेवा पु¥याउन उक्त प्रदर्शनीमा नेपालको उच्चस्तरीय सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो ।
दक्षिण एसिया र दक्षिया पूर्वी एसियाका नेता सहभागी हुनुभएको सो मेलाको शुक्रबारै भएको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘विशेष अतिथि’का रूपमा सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको समेत उद्घाटन गनुभयो ।
चीनको युनान प्रान्तको आजदेखि सुरु भएको मेला २७ गतेसम्म चल्नेछ । मेलामा कुल ८० कक्षको निर्यातयोग्य नेपाली उत्पादन राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाहको व्यवस्था गरिएको छ ।
सो मेलामा नेपालले नवौँ चीन–दक्षिण एसिया व्यापारिक मञ्चको अध्यक्षता ग्रहण गरेकाले नेपाल उद्योग वाणिज्य महासङ्घको सहभागिता रहेको छ ।
युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्तरूपमा आयोजना गरिएको व्यापारिक मेलामा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका ४६ राष्ट्रको सहभागिता रहेको छ ।
प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङ, युनान प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका सचिव क्वीन ग्यानग्रोङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीसँग समेत भेटघाट गर्नुभएको जनाइएको छ ।
साथै, भ्रमणका अवसरमा बङ्गलादेशका प्रधानमन्त्री र माल्दिभ्सका उपप्रधानमन्त्रीसँग द्विपक्षीय सहयोग एवम् हितका विविध पक्षका बारेमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चीन भ्रमणका लागि प्रधानमन्त्री कोइराला बिहीबार बिहान विशेष विमानमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।














प्रतिक्रिया