१८ कार्तिक २०८३, बुधबार

यस्तो रह्यो एमालेको स्थायी समिति बैठक (विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building

काठमाडौँ, १ असार । नेकपा (एमाले) को स्थायी कमिटीको १६ औँ बैठकले चार प्रमुख दलबीच भएको सहमतिले राष्ट्रिय राजनीतिलाई सकारात्मक बनाउनुका साथैै संविधान निर्माण सुनिश्चित गराएको ठहर गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २५ मा भएको सो सहमतिबारे जानकारी गराउँदै पार्टीको सम्पूर्ण शक्ति संविधान निर्माणमा केन्द्रित हुने र यही असारभित्रै लोकतान्त्रिक संविधान जारी गराउन सक्रियता अपनाउन संविधानसभाको मस्यौदा समितिमा रहेका आफ्ना सदस्यलाई निर्देशित गरेको छ ।

अध्यक्ष ओलीले सहमतिमा असहमत केही दललाई सहमतिमा ल्याउन अधिकतम् प्रयास गरिने, अन्यथा प्रक्रियाबाट संविधान जारी हुने जनाउँदै त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन र विपत्तिपछिको पुनःनिर्माणमा मुलुक होमिने बैठकलाई जानकारी गराउनुभएको पार्टीका सचिव प्रदीप ज्ञवालीले पत्रकारलाई बताउनुभयो ।

बैठकले पार्टीका सल्लाहकार परिषद्मा नवौँ महाधिवेशन अघिका कार्यकालका केन्द्रीय सदस्य रहेका भरतमोहन अधिकारीलगायत ३३ नेतालाई चयन गरेको छ । परिषद्को सभापति सदस्यमध्येबाट परिषद्को बैठकले छान्नेछ ।

यस्तै विभिन्न अञ्चल कमिटी, केन्द्रीय विभाग र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य मनोनयनका लागि पार्टीको सङ्गठन विभागले तयार पारेको नियमावली संशोधनको मस्यौदा अध्ययन गरी अर्काे बैठकमा प्रस्तुत गर्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

बैठकले हृदयघातबाट आज निधन हुनुभएका नेता बाबुराम चौधरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको भने अध्यक्षका ओलीको बुधबारदेखि एक साताका लागि नियमित स्वास्थ्य परीक्षणका थाइल्यान्ड भ्रमणको सफलताको कामना पनि गरेको छ । रासस

हेर्नुस् विज्ञप्ति:

असार १, २०७२
प्रेस वक्तव्य

नेकपा (एमाले) स्थायी कमिटीको सोह«ौं बैठक आज असार १, २०७२ का दिन अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्यो । बैठकमा अध्यक्षले १६ बुँदे सहमतिपछि विकसित राष्ट्रिय राजनीति, संविधान निर्माणको पछिल्लो अवस्था र राष्ट्रिय सहमतिको सरकार निर्माण लगायतका बिषयमा जानकारी गराउनुभयो । बैठकले १६ बुँदे सहमति पश्चात् संविधान निर्माणको सुनिश्चित आधार निर्माण भएको, जनतामा विश्वासको सञ्चार भएको र दलहरूबीच सहमति तथा सहकार्यको नयाँ चरण आरम्भ भएको निष्कर्ष निकालेको छ । छिटफुट रूपमा असहमतिका स्वरहरू सुनिए पनि संविधानसभाको झण्डै ९५ प्रतिशत सदस्यहरू सहमति र संविधान निर्माणको पक्षमा उभिनुलाई बैठकले अत्यन्त सकारात्मक बिषयका रूपमा ग्रहण गरेको छ । बैठकले आफ्नो सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गर्दै छिटोभन्दा छिटो संविधान जारी गर्न अग्रणी भूमिका खेल्ने कुरामा पुनः जोड दिएको छ ।

बैठकले आठौं महाधिवेशनदेखि नवौं महाधिवेशनको अवधिमा केन्द्रीय सदस्य रहनुभएका र हाल केन्द्रीय कमिटीमा नरहनुभएका निवर्तमान केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनयन गर्दै केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ ।

बैठकले स्थायी कमिटीको आगामी बैठकबाट पार्टी नियमावली– २०७२ पारित गर्ने निर्णय गरेको छ । यस प्रयोजनका लागि केन्द्रीय सङ्गठन विभागले नियमावलीको मस्यौदा स्थायी कमिटीका सदस्यहरूलाई तत्काल वितरण गर्नेछ । नियमावली पारित भए लगत्तै पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् गठन, केन्द्रीय विभागहरूको गठन र अञ्चल समन्वय कमिटीलाई पूर्णता दिने काम अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा अध्यक्ष कमरेडले आफू नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा भोलि असार २ गते बैङ्कक प्रस्थान गर्न लागेको जानकारी गराउनुभयो । बैठकले उहाँको यात्राको सफलताको कामना गरेको छ ।

बैठकले हृदयाघातका कारण असामयिक निधन हुनुभएका निवर्तमान केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड बाबुराम चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय