
रौतहट, १७ चैत । देशको विभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरुसँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैयाँ ठगी गर्दैआएका गौरका एक जना युवक पक्राउ परेका छन् ।
त्रिवि शिक्षण अस्पताल काठमाडौंस्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौं रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन् । बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपीसँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौं ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० वर्षीय पवन कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताउनुभएको छ ।
सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
सोनीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया