सप्तरी, १ असार । छुट्टाछुट्टै घटनामा परी सप्तरीमा पाँच जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक हिजो र आज गरी पाँच जनाको मृत्यु भएको छ भने सप्तरीबाट रोजगारीका सिलसिलामा मलेसिया गएका एक युवकको समेत मृत्यु भएको छ ।
राजविराज नगरपालिका–१० बस्ने ५० वर्षीय रामप्रसाद यादवले चम्पाको फूल खाएर आत्महत्या गरेका छन् ।
पारिवारिक तनावले गर्दा आबेसमा आएर चम्पाको फूल खाएका यादवलाई उपचारका लागि अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले आज जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको मृत्यु भएको छ ।
मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवको राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनका परिवारले भने छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रहसमेत गरेका छन् ।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुरस्थित रुपनी सडकखण्डमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारकै क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सीतापुर गाविस–४ निवासी ४५ वर्षीय नेनाय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख २०६९ नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको स ३ प १६५८ नम्बरको चौधरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
यसैगरी, भारदह गाविस–१ स्थित कोसी नदीको पश्चिम नहरमा रहेको पिपलको रुखमा एक पुरुषले घाँटीमा डोरी लगाएर झुन्डिएको अस्थामा प्रहरीले फेला पारेका छन् ।
अन्दाजी ४० वर्षीय उक्त पुरुषको सनाखत हुन नसकेको र आत्महत्या हो कि हत्या भएको यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
त्यस्तै, सप्तरीको शम्भुनाथ गाविसस्थित खाँडो नदीले बगाउँदा एक युवकको आइतबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ–२ बस्ने उलाउदिन मियाको १४ वर्षीय छोरा मेहबुव मियाँ रहेको प्रहरीले जनाएको छ ।
मेहबुवले घर नजिकै रहेको खाँडो नदीमा दाउरा टिप्न जाँदा अचानक आएको बाढीले बगाएको थियो । रासस















प्रतिक्रिया