रत्ननगर (चितवन), १ असार । चितवनस्थित निजी विद्यालयले अपारदर्शी रुपमा शुल्क लिएको भन्दै यहाँका विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् ।
विद्यार्थी सङ्गठनले निजी विद्यालयले भूकम्पपछि स्कुल बन्द रहेको समयको शुल्क लिएको र केही विद्यालयले शुल्कसमेत वृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । विद्यार्थीलाई भयरहित वातावरणमा पढाइ गराउन ध्यान दिनुपर्नेमा शुल्कको भार थोपरेर थप पीडामा पारेको आरोप सङ्गठनका पदाधिकारीले लगाएका छन् ।
विद्यार्थीमा भूकम्पको त्रास नघटेका बेला मनपरी शुल्क उठाउँदा अभिभावकमा समेत नकारात्मक दबाब बढेको नेपाल विद्यार्थी सङ्घ चितवनका प्रतिनिधि परमेश्वर खनालले बताउनुभयो ।
खनालसहित अनेरास्ववियुका जिल्ला संयोजक देवप्रसाद पाठक, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष दीलिप पौडेल, अनेरास्ववियु क्रान्तिकारी विप्लव पक्षका जिल्ला अध्यक्ष सरोज भण्डारीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अनावश्यक रुपमा लिइएका शुल्क १७ घन्टाभित्र फिर्ता गर्न मागसमेत गर्नुभयो ।
बढाइएका र जथाभावी लिइएका शुल्क तत्काल फिर्ता नगरे सङ्गठनले त्यस्ता विद्यालयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । रासस















प्रतिक्रिया