काठमाडौं, ३२ जेठ । विनाशकारी भूकम्पमा ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनका परिवारका लागि आर्थिक सहयोग संकलन गरिएको छ ।
कमेडियन कलाकार तथा गायक एवं निर्देशक गुरुङ सोल्टीको पहलमा साउदी अरबमा रहेका नेपालीहरुका तर्फबाट संकलित नगद दश हजार रुपैयाँ राहत रकम सोमबार नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौंको राहत कोषमा हस्तान्तरण गरिएको हो ।
अल मेहेलिब उद्योग समूह, अल कसीम साउदी अरबका कर्मचारी तथा त्यहाँ रहेका नेपालीहरुबाट सुनसरी, हाँसपोसा, तरहराका भूतपूर्व भलिबल खेलाडी मिलन श्रेष्ठको नेतृत्व तथा भुवन भण्डारीको सहयोगमा संकलित राहत रकम कलाकार सोल्टी मार्फत मञ्चलाई हस्तान्तरण गरिएको हो ।
श्रेष्ठ कोशी अञ्चल स्तरीय भलिबल प्रतियोगितामा सहभागी भईसकेका राष्ट्रिय खेलाडी हुन् । उनकै नेतृत्वमा अन्य स्थानहरुमा पनि राहत रकम सहयोग भएको छ ।
कलाकार सोल्टीले भने यसअघि हङकङ्ग तरहरा (हाँसपोसा) मञ्चले हङकङ्गबाट पठाएको नगद रुपैयाँ दुई लाख चालिस हजार सुनसरी जिल्ला घर भएका भूकम्पमा ज्यान गुमाएका आठजना मृतकका परिवारलाई नगद रुपैयाँ तीस हजारको दरले हस्तान्तरण गरिसकेका छन् ।
भूकम्प पीडितहरुकै सहयोगार्थ अगष्ट १६ मा हङकङ्गमा हुन गईरहेको खोटाङ हलेसी साँझ ३ मा पनि सोल्टी सहभागी हुँदैछन् । आगामी दिनहरुमा पनि गीतसंगीत तथा कलाकारिताको माध्यमबाट सहयोग निरन्तर रहने सोल्टीले बताए ।
















प्रतिक्रिया