काठमाडौँ, ३२ जेठ । प्रमुख राजनीतिक दलका नेताहरुले असार मसान्तभित्र संविधान जारी भई र राष्ट्रिय सरकार गठन हुने दाबी गरेका छन् ।
सम्वाद क्लब नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख दलबीच भएको १६ बुँदे सहमतिले सबै दल एकबद्व भएको सन्देश दिएकाले राष्ट्रिय सरकार गठन हुनेमा शङ्का नरहेको उनीहरुले बताएका छन् ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दलबीच भएको १६ बुँदे सहमति अत्यन्त सकारात्मक भएको भन्दै सहमति बाहिर रहेकालाई समेत सम्बोधन गरी सहमतिको बिन्दुमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–‘जनतालाई पुनःस्थापना गर्नु हाम्रो जिम्मेवारी हो त्यसैले राष्ट्रिय सहमति आजको आवश्यकता हो ।’
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले प्रमुख दलबीचको १६ बुँदे सम्झौताले संविधान निर्माणको सुनिश्चितता प्रदान गरेको बताउनुभयो ।
उहाँले मुलुकमा आएको यस विपत्तिको समयमा सम्भव, जायज र तार्किक माग लिएर सहमतिमा आउन अन्य दललाई आग्रहसमेत गर्नुभयो ।
एनेकपा (माओवादी)का नेता देवेन्द्र पौडेलले संविधानसभाभित्रका दलहरुले आ–आप्mनो अडान नछाड्ने हो भने देशमा कहिल्यै पनि संविधान नबन्ने भन्दै दलहरुबीच पटक–पटक भएका सम्झौता भङ्ग भएको र जनताको विश्वास गुम्दै गएकाले सबै सहमतिमा आउनुको विकल्प नभएको बताउनुभयो ।
विपक्षमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले मधेस तराई र जनजातिलाई बाहिर राखेर संविधान जारी गर्न खोजे मुलुकमा फेरि द्वन्द्व निम्तने चेतावनी दिनुभयो ।
सोह्रबुँदे सहमति सच्याउन आग्रह गर्दै उहाँले त्यो नसच्चिए आफूहरु संविधानसभाबाट बाहिरिने र सङ्घर्ष गर्ने बताउनुभयो । रासस












प्रतिक्रिया