जाजरकोट, ३२ जेठ । यहाँको एक विद्यालयमा प्रधानाध्यापक र अभिभावकको विवादले गर्दा विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।
जिल्लाको जगतीपुर–१ मा रहेको विश्व प्राविमा यस्तो समस्या आएको छ । प्रधानाध्यापक दुर्गालाल पौडेललाई विद्यालयमा नियमित नपढाएको, आर्थिक अनियमितता गरेको स्थानीय अभिभावक पार्वती गन्धर्वले आरोप लगाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गङ्गाबहादुर सुनारले शिक्षक विद्यालयमा नआएको दिन हाजिर नगर्न आग्रह गरे पनि प्रअ, अन्य शिक्षकले सो कुरालाई नमानेपछि विवाद बढेको बताउनुभयो ।
विसं २०५६ मा स्थापना भएको यो विद्यालयमा अहिले शिक्षकका लापर्बाहीका कारण पढाइ नहँुदा विद्यार्थी दुई घन्टा टाढाको दूरीमा रहेको निजी बोर्डिङमा पढाउनु परेको गुनासो गर्नुभयो ।
विद्यालयमा ९१ जना विद्यार्थी भर्ना भएको भए पनि मुस्किलले ३४ जनाभन्दा बढी कहिले पनि नआएको विद्यार्थीको हाजिरी रजिस्टरमा उल्लेख छ ।
जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले विद्यालयको अवस्था १५ दिनभित्र नसुधारेमा अर्कै विद्यालयमा गाभिने चेतावनी दिनुभयो । रासस















प्रतिक्रिया