
बुटवल, १४ फागुन । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएको बताउनुभएको छ । उहाँले यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेवास्ता गरेको बताउँदै अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्वपूर्ण कामहरू सबै रोकिएको दावी गर्नुभयो ।
आइतबार बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खवरदारीको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो । ‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मूख भएका छन्’ पौडेलले भन्नुभयो, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजनामा बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खवरदारी गर्छ ।’
यस क्षेत्रमा चालू अवस्थामा रहेका विकासका आयोजनाहरुको बजेट सरकारले काट्दा धेरै योजनाहरु अलपत्र परेको पौडेलले बताउनुभयो । ‘सुरु भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आयोजनाको बजेट काटिएको छ । अब खवरदारी गर्नुपर्ने अवस्था आयो ।’ पौडेलले भन्नुभयो ।
बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रीत हुने पौडेलले बताउनुभयो । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको र यस क्षेत्रका विकासमा तीनै तहका जनप्रतिनिधिहरु मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ ।
‘रूपन्देहीमा विकासका काम करिब करिब सकिएका जस्तो लाग्छ ।’ पौडेलले भन्नुभयो, ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खवरदारी गर्नु छ । बुटवल–चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रीत हुन्छ ।’
रुपन्देही पूर्वाधार विकासँगै शिक्षाको हब बनेको समेत उहाँले बताउनुभयो । केही समय अघिसम्म ओझेलमा परेका यहाँका सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ ।
‘यहाँको कालिका, कान्ति, शान्ति, नवीन, सैनामैनाका विद्यालय केही समयसम्म ओझेलमा थिए ।’ पौडेलले भन्नुभयो, ‘अहिले यी विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथो सम्म पुगे । यही ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ ।’ आइतबार पौडेल र भारतीय राजदूत नवीन श्रीवास्तवले यो भवनको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नहरपुर माविलाई आवश्यक स्कुल बस आगामी वर्ष दिने र छात्रवासको योजना अघि बढाउने बताउनुभयो । उहाँले हरेक योजना बनाउँदा पूर्ण संचालन हुनसक्नेगरी बजेट राखेर अगाडि बढाउन सुझाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले स्थानीय क्षेत्रमा हुने विकास निर्माणको काममा प्रदेशबाट हुने साझेदारीका लागि समन्वय गर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले नगर सरकारले हरेक विकासका योजना अगाडि बढाउन प्रदेश र संघीय सरकारसँग बसेर योजना बनाउने र बुटवलको व्यवस्थित विकासका लागि अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवलाई सम्मान गरिएको थियो ।












प्रतिक्रिया