६ कार्तिक २०८३, शुक्रबार

सेनाको हेलिकप्टरबाट उत्तरी गोरखा पुगे बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattarai-gorkha2गोरखाबजार, ३० जेठ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भूकम्प प्रभावित उत्तरी गोरखाको चारवटा गाविसको अवलोकन गर्नुभएको छ ।

आज बिहान चुम्चेत गाविस पुग्नुभएका भट्टराईले भूकम्पपीडित स्थानीयवासीको समस्याबारे जानकारी लिनुभएको थियो । साथै उहाँले ल्हो, प्रोक र सिर्दिवास गाविसका भूकम्पपीडितलाई पनि भेट्नुभएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले हिमालपारिका यी गाविसमा पनि ठूलो जनधनको क्षति भएको थियो । दुर्गम भेग पुग्नुभएका पूर्वप्रधानमन्त्री भट्टराईसमक्ष भूकम्पपीडितले अवरुद्ध मनास्लु पदमार्ग खुलाउन पहल गरिदिन आग्रह गरेका छन् ।

“एक गाउँदेखि अर्को गाउँ जाने बाटो छैन । पहिरो नै पहिरो छ” प्रोक गाविसका भूकम्पपीडित प्रवल लामाले टेलिफोनमा जानकारी दिनुभयो, “बाटो खुलाइदिन, खाद्यान्न ल्याउन र टहरो छाउने जस्तापाता ढुवानीको व्यवस्था गरिदिन हामीले अनुरोध ग¥यौँ ।”
भूकम्प गएपछि सदरमुकामसँग उत्तरी गोरखाको सम्पर्क टुटेको छ । भूकम्पपीडित हिँडेर सदरमुकाम आवतजावत गर्न सकेका छैनन् ।

मनास्लु पदमार्गको १३७ ठाउँमा पहाडको ढिस्को खसेर बाटो अबरुद्ध भएको छ । अधिकांश ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । पदमार्गको वैकल्पिक व्यवस्था गरेर भए पनि तत्कालै बाटो खुलाउन पहल गरिदिन स्थानीयवासीले आग्रह गरेका थिए । थुमीको सोती बजारदेखि सिर्दिवास नपुग्दासम्म १०० भन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

थुमीको आर्खेतबजारदेखि केरौंजा हुँदै सिर्दिवासको दोभान पुग्ने वैकल्पिक पदमार्ग खुलाउन स्थानीयवासीले भट्टराईलाई आग्रह गरेका थिए । नेपाली सेनाको हेलिकप्टर चढेर भट्टराई उत्तरी गोरखा पुग्नुभएको हो । उत्तरी भेगमा पनि भूकम्पले कच्ची सबै घर ध्वस्त बनाएको छ । त्यहाँका भूकम्पपीडित त्रिपाल टाँगेर दिनरात कटाइरहेका छन् ।

सरकारले उपलब्ध गराउने घोषणा गरेको अस्थायी आवासको लागि रु १५ हजार अहिलेसम्म वितरण हुन सकेको छैन । हेलिकप्टर नपाउँदा जस्तापाता ढुवानी गर्न सकिएको छैन । चार गाविसमा आधा/आधा घन्टा स्थलगत अवलोकन गरेर भट्टराई काठमाडौँ फर्कनुभएको हो । रासस