काठमाडौं, ३० जेठ, । राप्रपा नेपालका संस्थापक नेता पद्मसुन्दर लावतीको आज अन्त्येष्टि गरिँदैछ ।
आज दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गर्न लागिएको हो । लावतीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहानैदेखि खुलामञ्चमा राखिएको छ ।
उहाँलाई श्रद्धाञ्जलि दिन सभामुख सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ, राजनीतिज्ञ प्रकाशचन्द्र लोहनी, रमेशनाथ पाण्डे, दीर्घराज प्रसाई, विश्वबन्धु थापा, राजेश्वर देवकोटा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, सोही पार्टीका सुशील श्रेष्ठ तथा विभिन्न दलका नेतागण, सभासद्लगायत खल्लामञ्च पुग्नुभएको छ ।
यही जेठ २७ गते उपचारको क्रममा निधन भएका ७६ वर्षीय लावतीको पार्थिव शरीरलाई अहिले बिहान १० बजे ग्वार्कोस्थित निवासमा धार्मिक परम्पराअनुसार पूजाका लागि लगिने सो पार्टीका सदस्य सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । उहाँको आजै शवयात्रासहित पशुपति आर्यघाटमा किरात परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।
उहाँ विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै १२ पटकसम्म मन्त्री हुनुभएको थियो । राप्रपा नेपालले नेता लावतीको शोकमा तीन दिन पार्टी कार्यालय बन्द गरेको छ । जेठ ३० गतेसम्म देशभरका सम्पूर्ण पार्टी कार्यालय बन्द गरी १३ दिनसम्म पार्टीको झन्डा आधा झुकाउने राप्रपा नेपालले जनाएको छ ।













प्रतिक्रिया